एमाले तुलसीपुर नगरको  सपथ ग्रहण

बरालिने छुट कसैलाई छैन : एमाले पोलिटब्युरो सदस्य चौधरी 

तुलसीपुर, १८ असोज । नेकपा एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरीले पार्टीको नाममा  बरालिने छुट कसैलाई नभएको बताउनु भएको छ  । एमाले तुलसीपुर नगर कमिटीका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै पोलिटब्युरो सदस्य चौधरीले जनताको हरेक सुखदुःखमा सारथी बनेर जुट्न पार्टी अगुवा नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

‘पार्टीको नाममा नबरालिनुस् । जिम्मेवारी बोधका साथ सङ्गठन निर्माण देखि जनताको काममा खट्नुस् । पार्टीको उद्देश्य भनेको मिसन ८४ हो, त्यसलाई पुरा गर्ने गरि आजैबाट काममा लाग्नुस ।’ पोलिटब्युरो सदस्य चौधरीले भन्नुभयो । घोराही उपमहानगरपालिका मेयर समेत रहनु भएका चौधरीले पार्टीको लक्ष्यलाई पुरा गर्नेगरी आजैबाट काम जुट्न निर्देशन दिदैँ नवनिर्वाचित टिमलाई बधाई समेत दिनुभयो । 

सो अवसरमा एमाले केन्द्रिय सदस्य कोमल ओली, प्रदेश कमिटीका उपसचिव पूर्ण बुढा, सदस्य हुकुम बहादुर बस्नेत, रामजी चौधरी मिलन,  जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, एमालेका पुराना नेता छविलाल वली, राममणि नेपाली, एमाले नेत्रीद्धोय शावित्रा विश्वकर्मा, शारदा स्वर्णकार, युवा नेताहरू माधव वली, सुरेश रावत लगायतले बोल्नु भएको थियो ।  निर्वाचन मण्डलका अध्यक्ष मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण नगर इन्चार्ज मानबहादुर रावतले गर्नुभएको थियो । गएको असोज ६ गते तुलसीपुरमा सम्पन्न तुलसीपुर नगर कमिटीको दोस्रो नगर अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो । 

यसैबीच नगर कमिटीका अध्यक्ष रुपबहादुर खत्रीको अध्यक्षतामा बसेको पहिलो बैठकले अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण सहयोग पुर्‍याउनुहुने  पार्टीका नेता, कार्यकर्ता, प्रतिनिधि, निर्वाचन मण्डल, आर्थिक समिति, स्वयंसेवक लगायत सबैलाई धन्यवाद दिने निर्णय गरेको छ । त्यसैगरी बैठकले केही दिनअघि बाढी र पहिरोबाट देशभर ठूलो जनधनको क्षति भएको प्रति दुःख व्यक्त गर्दै, घाइतेको निःशुल्क उपचार र पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्ने निर्णय गरेको बैठक पछि सचिव जितबहादुर खड्का दारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

एमाले नगर कमिटीका नवनिवार्चित पदाधिकारी तथा सदस्यहरु 

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रवार
प्रतिक्रिया