ललितपुर,
यूएन पार्कमा सोमबार दिउँसो गोली चलेको छ । पक्राउ गर्ने क्रममा आक्रमण गर्दै भाग्न खोजेका गुण्डा नाइके भनिएका अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । ललितपुरको शंखमुलस्थित यूएन पार्कमा लामालाई पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजेकाले नियन्त्रणमा लिन गोली प्रहार गर्नुपरेको अपराध महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक धीरज प्रताप सिंहले जानकारी दिनुभयो ।
गुण्डा भनिएका लामाको दायाँ खुट्टाको माथिल्लो भागमा एक राउण्ड गोली लागेको प्रहरी बरिष्ठ उपरीक्षक सिंहले बताउनुभयो । गोली प्रहारबाट घाइते लामालाई उपचारका लागि वीर अस्पताल लगिएको छ । लामा प्रहरीको खोजी सूचीमा रहेका थिए । ललितपुरको सातदोबाटोलाई आधार क्षेत्र बनाएर गुण्डागर्दीमा संलग्न रहँदै आएका लामाको साथबाट एक थान पेस्तोले र दुई राउण्ड गोली समेत बरामद भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०७५ जेष्ठ २८ गते सोमवार