बाढी र पहिरोबाट ३ दिनमा १ सय ४८ जनाको मृत्यु

काठमाण्डौं, १३ असोज ।  पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर १ सय ४८ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीका अनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय ४८ जनाको मृत्यु भएको छ भने ५८ जना अझै बेपत्ता छन् । यस्तै १ सय एक जना घाइते भएका छन् । सबैभन्दा धेरै काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ४१ जनाको मृत्यु भएको छ । काठमाण्डौमा १४, ललितपुरमा २२ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो । यसअघि सशस्त्र प्रहरीले भने काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा मात्रै ७३ जनाको मृत्यु भएको बताएको छ । धादिङमा बस पुरिएका मृतकलाई समेत काठमाण्डौ उपत्यकामा गणना गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यस्तै नेपाल प्रहरीका अनुसार धादिङमा ३८, काभ्रेमा २९ र मकवानपुरमा ७ जनाको मृत्यु भएको छ । यस्तै सिन्धुपाल्चोकमा ६, दोलखामा ३, सिन्धुलीमा २ र रामेछापमा १ जनाको मृत्यु भएको छ यसैगरी सोलुखुम्बु र पाँचथरमा ५र५ जना, झापा र धनकुटामा २÷२ जना तथा इलाम र उदयपुरमा एकरएक जनाको मृत्यु भएको छ । महोत्तरीमा २ जना र सप्तरीमा १ जनाको मृत्यु भएको छ । यस्तै बाढी पहिरोमा परी ५८ जना बेपत्ता भएका छन् । सबैभन्दा धेरै काभ्रेमा २३ जना बेपत्ता छन् । यस्तै ललितपुरमा १५, काठमाण्डौमा ५, सिन्धुपाल्चोकमा ६, दोलखामा ४, धादिङमा २, पाँचथरमा ५ जना तथा झापा, मोरङ र महोत्तरीमा १र१ जना बेपत्ता भएका नेपाल प्रहरीले जनाएको छ । बाढी पहिरोमा परेर अहिलेसम्म ३ सय ३४ वटा घर बगेका छन् । यस्तै ४ वटा पक्की पुल र २ वटा बेलिब्रिजसहित १६ वटा पुल पनि बगेका सशस्त्र प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया