६ किलो अफिमसहित वडा सदस्य खत्री पक्राउ

बाँके,२७ जेठ ।

रुकुमको सिस्ने नगरपालिकाका वडा सदस्य लागुऔषध अफिमसहित नेपालगञ्जबाट पक्राउ परेका छन् । सिस्ने नगरपालिका ३ का वडा सदस्य मनबहादुर खत्रीसहित तीन जनालाई लागुऔषध अफिमसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङका अनुसार नेपालगञ्जको  दैलेखी जय होटलको कोठा नम्बर २०४ बाट ६ किलो ५०० ग्राम लागुऔषध अफिमसहित खत्रीलाई पक्राउ गरिएको हो । नेपाल प्रहरीको ५ नम्बर प्रदेश अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त  टोलीले वडा सदस्य खत्रीसहित रुकुम सिस्ने–४ का भूपेश खड्का र ३ का बमबहादुर खड्कालाई पक्राउ गरेको हो ।

लागुऔषध अफिमसहित पक्राउ परेका खत्री स्थानीय तहको चुनावमा नेपाली कांग्रेसबाट विजयी वडा सदस्य हुन् । रुकुममा एक किलोको अफिम करिब एकलाख रुपैयाँ पर्ने र भारतमा त्यसको मूल्य पाँच लाख रुपैयाँ प्रतिकिलोमा बिक्रि हुने पक्राउ परेकाहरुले बताएका छन् । पक्राउ परेका तीनैजना अफिमको मध्यमस्तरको कारोबारी भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक तामाङले पक्राउ परेका तीनजनालाई लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐन बमोजिम १५ वर्षदेखि जन्म कैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुने बताउनुभएको छ । रुकुमलगायतका छिमेकी जिल्लामा समेत अफिमको कारोबार हुने गरेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया