तुलसीपुर, २७ जेठ । रेडियोको क्षेत्रमा क्रियाशिल कल्याणराज गौतम अर्थात डियर कल्याणले रेडियोको यो उर्वर समय देख्दा आफुलाई निकै खुशी लाग्ने गरेको बताएका छन् । पहिलेको तुलनामा अहिले धेरै एफएम रेडियो सन्चालनमा रहेको बताउदै उनले रेडियोले समाजका लागि योगदान दिन सक्नु पर्ने धारणा राखेका छन् ।रोटरी क्लब अफ तुलसीपुर सिटीले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
साथै उनले रेडियोहरुले कुनै विषयगत विधालाई लिएर सामाजिक उत्तरदायित्वलाई बलियो ढंगले उठान गरी छुट्टै पहिचान दिनुपर्ने भनाई राखेका छन् । कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिजय केसीले उनलाई खादा ओढाएर सम्मान एवं स्वागत गरेका थिए ।सो अवसरमा पूर्व अध्यक्ष कुशल तर्तालले क्लबले स्थापना कालदेखी अहिलेसम्म गरेका बिभिन्न सामाजिक गतिबिधीहरुको बारेमा जानकारी गराएका थिए ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष तुफानवावु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले हाल अमेरिकामा स्थाई बसोबास गर्दै आएका गौतमलाई मायाको चिनो प्रदान गर्दै उनले विगत २२ वर्षदेखी संचालन गर्दै आएको कार्यक्रम मेरो कथालाई अमेरिकाबाट पनि निरन्तरता दिन सुझाव दिएका थिए । क्लबका प्रस्तावित अध्यक्ष देव बहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष सचिन पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
साथै सोही अबसरमा रोटरी क्लब अफ हिमालय पाटनबाट आएकी सर्विस प्रोजेक्ट चेयर रोटरियन सोनु शाक्य ब्रजाचार्यलाई पनि स्वागत तथा सम्मान गरिएको थियो । क्लवका महासचिव सन्दिपन रिजालले सहजिकरण गरेको कार्यक्रममा रोटरियन राजिव वलीले परिचय गराएका थिए । कार्यक्रममा क्लबले मे महिनामा गरेका बिभिन्न गतिबिधीहरु समेटिएको मासिक बुलेटिनको पनि बिमोचन गरिएको थियो ।