तुलसीपुर, २७ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य टेक बहादुर बस्नेतले मुलुक समृद्धिको मार्गमा एक कदम अघि बढिसकेको बताएका छन् । रिपोर्टस् क्लब दाङले आईतबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा पूर्बमन्त्री बस्नेतले नयाँ संरचना अनुसार तीनै तहको सरकार गठन भईसकेको र कम्युनिष्टको सरकार भएकाले देश अब संमृद्धिको मार्गमा अघि बढिसकेको बताए ।
रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उनले मुलुक संबिधान कार्यान्वयनको चरणमा अघि बढेको भन्दै जनताले नदेखेको भबिष्य देखाउन लागि परेको समेत बताए । उनले अब राजनीतिक लडाई सकिएको भन्दै मुलुक बिकास र समृद्धिको मार्गमा अघि बढिरहेको बताए ।
समृद्ध नेपाल निर्माणका लागि दुई ठुला कम्युनिष्ट पार्टीहरुबीच एकता भएको समेत उनको भनाई थियो । अहिले मुलुकले बिकास चाहेको भन्दै सरकार स्थिर भएमा बिकास र समृद्धिको मार्गमा मुुलुक अघि बढ्ने बताए । जसले गर्दा पनि दुई ठुला कम्युनिष्ट पार्टीहरुबीच एकता भएको उनको भनाई थियो । साक्षात्कारको सहजीकरण रिपोर्टस् क्लब दाङका सदस्य सन्तोष केसीले गरेका थिए ।