एसईईको ग्रेडवृद्धि परिक्षामा ९० हजार भन्दा धेरै विद्यार्थी फेल

काठमाण्डौं, ६ असोज ।  राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक नतिजा सार्वजनिक गरेको छ  । बोर्डका अनुसार एसईईको ग्रेडवृद्धि परीक्षामा सहभागीमध्ये ५६ दशमलव ७८ प्रतिशत उत्तीर्ण भएका छन् । परीक्षामा दुई लाख १० हजार ३ सय २१ जना सहभागी रहेकोमा एक लाख १९ हजार ४ सय २५ जना उत्तीर्ण भएका बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलका अनुसार परीक्षामा सहभागीमध्ये ९० हजार ८ सय ८८ जना ननग्रेडेड अर्थात् अनुत्तीर्ण भएका छन् । बोर्डका अनुसार जीपीए ३ दशमलव ६१ देखि ४ सम्म १८ जनाले ल्याएका छन्  ।

जीपीए ३ दशमलव २१ देखि ३ दशमलव ६० सम्म एक हजार ५ सय १८ जनाले ल्याएका छन् । त्यस्तै जीपीए २ दशमलव ८१ देखि ३ दशमलव २० सम्म २३ हजार ६ सय २३ जनाले ल्याएका छन्  । जीपीए २ दशमलव ४१ देखि २ दशमलव ८० सम्म ७४ हजार ४ सय ६० जनाले ल्याएका बोर्डले जनाएको छ । बोर्डका अनुसार जीपीए १ दशमलव ६० देखि २ सम्म भने ६४ जनाले मात्रै ल्याएका छन् । २०८० सालको एसईईमा नियमित परीक्षार्थीका रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका परीक्षार्थी ग्रेडवृद्धि परीक्षामा सहभागी भएका थिए ।।

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार
प्रतिक्रिया