तुलसीपुर, २१ जेठ । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाका सह संयोजक वसन्त कुमार आचार्यले दिवंगत श्रीमती पार्वता आचार्यको सम्झनामा नेपाल पत्रकार महासंघ दाङ्गमा अक्षय कोष स्थापना गरेका छन् । उनले स्वास्थ्य क्षेत्रका कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी रु एक लाख, एघार हजार एक सय एघारको अक्षयकोष स्थापना गरेका हुन् । ‘स्वास्थ्यका वारेमा थाहा नहुँदा मान्छेले अकालमा ज्यान गुमाइरहेका छन् त्यसैले यस क्षेत्रमा कलम चलोस् भनेर पुरस्कार स्थापना गरेको हुुँ ’ उनले वताए । उनकी श्रीमती पार्वता आचार्यको स्वाइनफ्लुबाट अल्पायुमै निधन भएको थियो ।
तुलसीपुर उपमहानगरपालिकामा कार्यक्रमको आयोजना गरेर आचार्यले अक्षय कोषको रकम नेपाल पत्रकार महासंघ दाङ्गका सचिव भुपेन्दप्रकाश वलीलाई हस्तान्तरण गरेका हुन् । अक्षयकोष हस्तान्तरण कार्यक्रममा वोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले स्वास्थ्यका बारेमा हरेक नागरिक संवेदनशिल हुनुपर्ने आवश्यकता रहेको वताउँदै आचार्यले गरेको कामको प्रशंसा गरेका थिए । ‘श्रीमती गुमाउनुको शोकलाई सृजनात्मक काम गरेर विर्सन खोज्नु भएको छ , यो सबैका लागि प्रेरणाको कुरा हो ’ नगरप्रमुख पाण्डेले भने । उनले उपमहानगरपालिकाले पनि स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको वताए । कार्यक्रमको सहजीकरण पत्रकार वसन्त विवश आचार्यले गरेका थिए ।