योजना विनाको विकास दीर्घकालिन हुँदैन: मेयर चौधरी

दाङ, जेठ १९ । 

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले योजना विनाको विकास दीर्घकालिन नहुने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडानम्वर–१८ को सहयोग एवं दाङ मिडिया प्रालिले आयोजना गरेको स्थानीय पञ्जीकरण र अभिलेख व्यवस्थापन तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख चौधरीले यस्तो बताउनुभएको हो ।

समाज विकासको गतिमा अगाडि बढेको भन्दै प्रमुख चौधरीले  व्यवस्थित यसलाई व्यवस्थित गर्नतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । घर व्यवस्थित भयो भने मात्रै समाज र राष्ट्र व्यवस्थित हुने भन्दै प्रमुख चौधरीले भन्नुभयो, ‘राष्ट्रलाई समृद्ध बनाउने अभियानको थालनी घरबाटै हुनुपर्दछ । हरेक घरले व्यवस्थित तरिकाले अभिलेखीकरण ग¥यो भने त्यसले समाज र राष्ट्रलाई फाइदा हुन्छ ।

त्यसैले सबै भन्दा पहिले आफ्नो घरको व्यवस्थित अभिलेखीकरण गर्न सिकौं । यति भयो भने राष्ट्रको समृद्धिको यात्रा सुरु हुन्छ ।’ जीवनलाई व्यवस्थित बनाउन अभिलेखीकरणको आवश्यकता पर्ने प्रमुख चौधरीको भनाई छ ।

प्रालिका अध्यक्ष टीका बस्नेतको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रमुख तालिम प्रशिक्षक एवं महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजालले पञ्जीकरणको बारेमा सबैलाई अभिमुखीकरण गर्नुपर्ने बताउनुभयो ।

समयमै घटना दर्ता नहुने हो भने राज्यको अभिलेख व्यवस्थित नहुने भन्दै रिजालले समयमै घटना दर्ता गर्नु नागरिकहरुको दायित्व हो भन्ने बारेमा अवगत हुनुपर्ने बताउनुभयो ।  उक्त अवसरमा घोराही उपमहानगरपालिकाका वडा नम्बर १८ का कार्यवाहक अध्यक्ष  बुद्धिप्रकाश चौधरी, सहभागी पशुपति रोका, लक्ष्मी रिजाललगायतले बोल्नुभएको थियो ।

घोराही उपमहानगरपालिका–१८ का विभिन्न टोलविकास संस्थाका ३६ जना प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पत्रकार एवं महेन्द्र बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख सुदर्शन रिजाल रहनुभएको थियो । कार्यक्रमको सहजीकरण प्रालिका सदस्य नविन अभिलाषीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १९ गते शनिवार
प्रतिक्रिया