बजेटमा सत्तापक्षकै सांसदको आपत्ति

तुलसीपुर,१७ जेठ ।
सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी वर्षको बजेटप्रति सत्तापक्षकै सांसदले असन्तुष्टि जनाएका छन् । आजबाट संसदमा सुरु भएको बजेटमाथिको छलफलकाक्रममा पहिलो दिन नै सत्तापक्षका सांसदले असन्तुष्टि जनाएका हुन् । नेपाल कम्युनिष्ट पार्टीका सांसद राजेन्द्र गौतमले बजेटमा सांसद विकास कोषको कुरा उल्लेख नभएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

उहाँले स्थानीय पूर्वाधार विकास साझेदार कार्यक्रम बदल्न जरुरी भएकोमा जोड दिनुभयो । तत्कालीन नेकपा एमालेको चुनाव चिन्ह सूर्यबाट चुनाव लडी निर्वाचित सांसद हृदयश त्रिपाठीले गैरसरकारी संस्थाका कार्यक्रम रद्द गर्न माग गर्नुभयो । नेकपाका अर्का सांसद टेकबहादुर बस्नेतले बजेटले देश संघीयतामा गइसकेको अवस्थामा संघीयता अनुरुप नयाँ राष्ट्रिय गौरवका योजना सुरु गर्न नसकेको समेत बताउनुभयो ।

अर्का सांसद पार्वत गुरुङले निर्वाचन क्षेत्र पूर्वाधार कोषको क्षेत्रमा बजेट नआएको भन्दै सांसदको अपमान भएको आरोप लगाउनुभयो । नेकपाका सांसद रामकुमारी झाँक्रीलेसमेत अर्थमन्त्री युवराज खतिवडाको अभिव्यक्तिप्रति आक्रोश पोख्दै संसद विकास कोषको खर्च न्यायोचित भएको भन्दै सांसद झाँक्रीले दुरुपयोगको सम्भावना बढ्ने धारणा राख्नुभयो । उहाँले संसदको रोष्ट्रमबाट राजनीतिको एकाधिकार अन्त्य हुन्छ कि हुँदैन भन्दै प्रश्न समेत गर्नुभयो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया