सुन काण्डका अभियुक्त एसएसपी खत्री जेल चलान

काठमाडौं,१७ जेठ ।

करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त एसएसपी श्याम खत्रीलाई जेल चलान गरिएको छ । जिल्ला अदालत, मोरङमा भएको बयान र थुनछेक बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको हो । उनलार्इ जिल्ला कारागार, मोरङमा राखिनेछ ।

 

उनले बिहीबारै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए । र, जिल्ला न्यायधिश नारायणप्रसाद शर्माको ६ नं. इजलासमा १२ पृष्ठ लामो बयान लिइएको थियो । यसअघि खत्रीलाई खोज्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा समेत डिफ्यूजन नोटिस जारी भएको थियो । खत्रीको बयानले सुन तस्करी प्रकरणको माथिल्लो नेक्सस खुल्ने अपेक्षा गरिएको थियो ।

प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले खत्री विमानस्थलमा रहँदादेखि एक किलो सुन पास गराउँदा ५० हजार लिने गरेको बयान दिएका थिए । खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान थियो ।

गोरेले सुन तस्करीमा सघाउने प्रहरीलाई बुझाएको रकमको लिस्टमा खत्रीको पनि नाम छ । उनले पटकपटक गरेर १ करोड १२ लाख रकम लिएको भेटिएको थियो भने तस्करीमा संलग्न अन्य अभियुक्तले पनि उनको नाम लिएका छन् ।

खत्री तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए । तर, उनलाई पछि अदालतले सफाई दिएको थियो ।

प्रकाशित मिति : २०७५ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया