विश्वभरका कम्युनिस्ट नेता काठमाडौंमा

तुलसीपुर,१६ जेठ ।
विश्वभरका कम्युनिष्ट नेताहरु काठमाडौंमा भेला भएका छन् । कार्ल माक्र्सको जन्मजयन्तीको अवसर पारेर कम्युनिस्ट नेताहरु भेला भएका हुन् । नेपाल कम्युनिस्ट पार्टी र नेकपा मसालले सो सम्मेलन आयोजना गर्न लागेका हुन् । कार्ल माक्र्स जन्मिएको २ सय वर्ष पुगेको तथा कम्युनिस्ट घोषणापत्र लेखिएको १७० वर्ष पुगेको उपलक्ष्यमा सम्मेलन गरिएको नेताहरुले बताएका छन् ।

आज र भोली काठमाडौंमा हुने सम्मेलनमा १२ देशका कम्युनिस्ट पार्टीले भाग लिँदैछन् । सम्मेलनमा चीन, भियतनाम, उत्तर कोरिया र लाओसका सत्तारुढ कम्युनिस्ट पार्टीको सहभागिता रहने एमाले नेता माधवकुमार नेपाल सीआईएनलाई बताउनुभयो । यसका साथै अष्ट्रेलिया, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, जापान लगायतका देशका कम्युनिस्ट पार्टीका नेता सम्मेलनमा सहभागी हुनेछन् ।

बिहान ९ बजे सम्मेलनको उद्घाटन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । सम्मेलनमा ओलीले नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारीप्रक्रियाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुहुने बताइएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको माक्र्सवाद र समाजवादका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते बुधवार
प्रतिक्रिया