कर्मचारीलाई राहतः महंगी, पोशाक भत्ता र बीमा रकम बढ्यो

१५ जेठ, काठमाडौं ।

सरकारले कर्मचारीहरुको तलब नबढाएर महंगी र पोशाक भत्ता बढाएको छ । महंगी भत्ता मासिक १ हजार र पोशाक भत्ता वार्षिक २ हजार ५ सय रुपैयाँले बढाएको हो । यसअघि मासिक एक हजार रुपैयाँ भत्ता र वार्षिक साढे ७ हजार रुपैयाँ पोशाक भत्ता सबै तहका कर्मचारीहरुले पाउने गर्दथे ।

 

पोशाक भत्ता निजामती सेवाका कर्मचारीहरुसँगै स्वास्थ्य सेवा र शिक्षकहरुले पनि पाउने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । यसअघि कर्मचारी ट्रेड युनियनले तलब भत्ता बढाउन अर्थमन्त्रीलाई दबाव दिएका थिए । हरेक दुई-दुई वर्षमा कर्मचारीहरुको तलब समायोजन गर्ने कानुनी व्यवस्था छ ।

सरकारले पछिल्लो पटक २०७३ सालमा कर्मचारीको तलव वृद्धि गरेको थियो । पछिल्लो १० वर्षको अवधिमा सरकारले ६ पटकसम्म तलव पुनरावलोकन गरेको छ । पुनः तलब सुविधा पुनरावलोकन गरी सुझाव दिन उच्चस्तरीय तलव आयोग गठन गरिने अर्थमन्त्री खतिवडाले बताए ।

बीमा २ लाख, ५० प्रतिशत कर्मचारीले व्यहोर्ने

यसैगरी कर्मचारीहरुको बीमांक रकम पनि सरकारले बढाएको छ । यसअघि कर्मचारीहरुको एक लाख रुपैयाँ बराबरको बीमा हुन्थ्यो । अब भने थप एक लाख थपेर बीमांक रकम २ लाख रुपैयाँ पुर्‍याइएको छ । यसमध्ये ५० प्रतिशत सरकारले र बाँकी ५० प्रतिशत सम्बन्धित कर्मचारीहरुले व्यहोर्नुपर्ने छ ।

पेन्सनको दायीत्व कम गर्नेबारे सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने गरिने छ । सरकारले कर्मचारी सन्चय कोषबाट कर्मचारी आवास योजना सन्चालन गर्ने छ । न्यूनतम लागतमा निर्माण गरिने त्यस्ता घरहरु निश्चित मापदण्डको आधारमा लागत मूल्यमा १० प्रतिशत थप गरी सन्चयकर्तालाई वितरण गरिने बजेट बक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया