बीबीसी, २० साउन । रुस र पश्चिमा देशहरूबीच शीत युद्धपछि भएको सबैभन्दा ठूलो कैदीबन्दी साटफेरका क्रममा रिहा भएका रुसी जासुस जोडीका बालबच्चाले आफू चढेको विमान मस्को उडेपछि मात्रै आफूहरू रुसी नागरिक भएको थाहा पाएका थिए । अर्त्युम भिक्टरभिच डल्टसेभ र एन्ना भलेरेभ्ना डुल्टस्भाले आफूहरू आर्जेन्टिनी जोडी भएको परिचय दिएर स्लोभेनियामा बसेका थिए । त्यही जासुसीको आरोपमा उनीहरू जेल परे ।
उनीहरूका बालबच्चालाई रुसी भाषा बोल्न पनि आउँदैन थियो र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबारे पनि थाहा थिएन। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार उनीहरूले विमानस्थलमा आफूहरूलाई स्वागत गर्न पुगेका व्यक्ति को हुन् भनेर सोधेका थिए।
दुवै तर्फका कैदीबन्दी साटफेर
विभिन्न देशको जेलमा रहेका २४ जना कैदीबन्दी बिहीवार रिहा भएका थिए । त्यसमध्ये १६ जना रुसी जेलमा रहेका पश्चिमा नागरिकहरू थिए भने आठ जना अमेरिका, नर्वे, जर्मनी, पोलन्ड र स्लोभेनियामा रहेका रुसी नागरिक थिए ।
रिहा हुनेमध्ये एक जना अमेरिकाको वालस्ट्रिट पत्रिकाका पत्रकार इभन गोर्स्कभीच थिए । उनी जासुसीको आरोपमा रुसमा गिरफ्तार भएका थिए । कैदीबन्दी साटफेर सम्झौतापछि रिहा भएको चार जनाको यो परिवारलाई रुसमा भव्य स्वागत गरिएको थियो। डल्टसेभ र यनकी छोरीलाई फूल दिएर राष्ट्रपति पुटिनले अङ्गालो हालेका थिए।
रुसी भूमिमा उत्रिएका ती जासुसका छोरी र छोरालाई राष्ट्रपति पुटिनले स्पेनिस भाषामा “शुभरात्रि” भनेका थिए। आर्जेन्टिनी सञ्चार माध्यमका अनुसार यो जोडीले आफ्नो नाम मारिआ माएर लुड्विग गिश भनेर चिनाएका थिए। उनीहरू सन् २०१७ मा आर्जेन्टिनी राहदानी देखाएरै स्लोभेनिआ पुगेका थिए।
आफ्नो छद्म नाममै श्रीमान्ले सूचनाप्रविधि कम्पनी चलाएका थिए र श्रीमतीले एक अनलाइन आर्ट ग्यालरी खोलेका थिइन्।
उनीहरू लुबिआनामा बस्दै आएका थिए। सन् २०२२ मा जासुसीको आरोपमा स्लोभेनियाको प्रहरीले उनीहरूलाई पक्राउ नगर्दासम्म पनि उनीहरूको अर्को परिचयबारे कसैले थाहा पाएको थिएन।
गोप्यताको अभ्यास
रुस फर्किएको जोडीलाई हालै जासुसीको कसुरमा दोषी ठहर भएर १९ महिनाको जेल सजाय सुनाइएको थियो । उनीहरू सने २०२२ मै पक्राउ परेका कारण उनीहरूलाई स्लोभेनिया छोड्न आदेश दिइएको एसोसिएट्स प्रेसले जनाएको छ।
बिहीवार ठूलो सङ्ख्यामा कैदीबन्दी साटफेरको सहमति भएपछि उनीहरू आफ्ना बालबच्चासँगै रुस फर्कने अवसर पाए । उनीहरूका ११ वर्षकी छोरी सोफिना र आठ वर्षका छोरा ग्याब्रिएल आर्जेन्टिनामै जन्मिएका थिए। उनीहरू चढेको विमान अङ्काराबाट रुसका लागि उडेपछि मात्रै उनीहरूले आफू रुसी भएको थाहा पाएको क्रेम्लिनका प्रवक्ताले बताए।
“गुप्त एजेन्टका बच्चाहरूले उनीहरूलाई स्वागत गर्ने व्यक्ति हो हुन् भनेर सोधे,” पेस्कोभले भने। “उनीहरूलाई पुटिन को हुन् भन्ने थाहा थिएन।” उनले आफूहरूका गुप्त एजेन्टहरूले आफ्नो “काम र सेवाका लागि यसरी नै त्याग गरेर” काम गर्ने बताए ।