तुलसीपुर, १९ श्रावन । दाङको तुलसीपुर उप–महानगरपालिका–१७ जमेरा निवासी कृष्ण प्रसाद थारुको खेत संक्राम खोला नजिकै छ । वर्षायाम सुरु भएसँगै उहाँलाई बाढीले खेत कटान गरिदिने चिन्ताले सताउछ । १ विगाह ३ कट्ठा खेत बाढीले प्रत्येक वर्ष विस्तारै कटान गर्दै जाँदा अहिले ३ कट्ठा मात्रै बाँकी छ । अघिल्लो आर्थीक बर्ष २०७९/०८० मा १० वटा र गत आर्थीक बर्षमा १० वटा तार जाली तुलसीपुर उपमहानगरपालिकाले उपलब्ध गराएपछी अहिले कटान गरेको खेत थोरै भएपनि जागिएको उहाँ बताउनुहुन्छ । त्यसैले गर्दा पनि अहिले ढुक्क भएको उहाँको भनाई छ । उहाँको अहिले करिब १ विगाह खेत संरक्षीत भएको छ । यति मात्रै नभएर आफुले तारजाली लगाएकै कारण तलतिर भएका छिमेकीहरु लाल बहादु्र थारु, गेहेन्द्र बस्नेत, मिनाराम चौधरी लगाएतको खेत पनि संरक्षण भएको उहाँले बताउनुभयो । यस्तै तुलसीपुर उपमहानगरपालिका–११ मोतिपुरका लिलाध्वज बस्नेतको समस्या पनि उस्तै छ । बर्खाको समयमा बबई नदीले बस्तीको छेउछाउमा कटान गर्दै जाँदा जोखिम बढिरहेको उहाँले बताउनुभयो । साविकको उरहरी गा.वि.स.को मोतिपुरमा २०७१ सालको श्रावन महिनामा आएको बाढीका कारण ६० घर डुबानमा परेपछि अहिले पनि उक्त क्षेत्र बाढीको उच्च जोखिममा नै रहेको छ । बाढीको जोखिम तथा कटानलाई रोकथाम गर्नका लागी स्थानीयकै जनश्रमदानबाट तटबन्धनको काम गरिदै आएको छ । यी त पतिनिधिमुलक पात्र मात्रै हुन् । हरेक वर्ष बाढी, पहिरो, डुवान, आगलागी, हाहुरी, महामारी, सर्पदंश, चट्याङ, भुकम्प लगाएत प्राकृतिक प्रकोपका कारण तुलसीपुर उपमहानगरपालिकामा ठुलो जनधनको क्षति हुदै आएको छ । यसरी आईपर्ने विभिन्न खालका विपद्का ठुला घटनाको राहत तथा विपद् न्यनिकरणका लागी उपमहानगरको योजना शाखा तथा वडामा भएको बजेट सानातिना कुलो, नाला मर्मत, खेत लगाएतको न्युनिकरण तथा पुनस्र्थापनाको काममा खर्च हुदै आएको विपद व्यवस्थापन शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७९/०८० को तथ्याङ्क अनुसार २ सय १९ वटा प्रकोपका घटना भएकोमा सबैभन्दा बढी घर भत्किएका घटना रहेको विपद् व्यवस्थापन शाखा प्रमुख टोप बहादुर डाँगीले बताउनुभयो । प्राकृतिक प्रकोपबाट जनधनको क्षति भएका नागरिकहरुलाई राहत मिलोस् भन्ने उदेश्यले तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाले क्षतिको आधारमा राहत उपलब्ध गराउँदै आएको छ । यति मात्रै नभई आपतकालिन अवस्थामा आईपर्ने विपद्लाई नियन्त्रण तथा न्युनिकरण गर्नका लागी आवश्यक जनशक्ति र स्रोत साधनहरु पनि तयारी अवस्था राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार कुनैपनि प्राकृतिक प्रकोप तथा विपद्का घटना भएमा सुरक्षकर्मी, रेडक्रस, स्थानीय नागरिक लगाएतको सहयोगमा उद्धारको काम हुदै आएको छ । यसमा विशेषगरी स्थानीय तथा नजिकका नागरिकहरुको भुमिका महत्व हुने प्रमुख डागीले बताउनुभयो । बाढी, पहिरो, आगलागी, हावाहुरी, डुवान लगाएत विपद्बाट हुन सक्ने क्षतिलाई न्युनिकरण तथा उद्धारका लागी अहिले तुलसीपुर उपमहानगरपालिकामा दमकल १ वटा, पानी टयाङकर १ वटा, भ्याकुलोडर २ वटा, टिप्पर २ वटा, एम्बुलेन्स ८ वटा, ड्रिल मेसिन १ वटा, स्वचालित आरी मेसिन १ वटा, लाईफ ज्याकेट १० वटा, रबर टयूव, हेड लाईट, स्टे«चर, सेफटी हेल्मेट ६/६ वटा लगाएतका उद्धारका सामाग्रीहरु रहेको उहाँले बताउनुभयो । यस्तै पालिकाभित्रका वडाहरुसँगको समन्वयमा वडाभित्र हुने विभिन्न प्राकृतिक प्रकोपहरुलाई छिटोछरितो रुपमा उद्धार गर्नका लागि सेफटी हेल्मेट, डोरी, लाईफ ज्याकेट, हाते आरी, सप्पल गल लगाएतका उद्धारका सामाग्रीहरुको व्यवस्थापन गरिएको छ ।
विपद् प्रभावितलाई राहतको व्यस्था
प्रत्येक वर्ष विभिन्न प्राकृतिक प्रकोपहरुले धनजनको क्षति हुदै गर्दा थोरै भएपनि पिडितको घाउमा मलमपट्टी गर्ने काम गरिरहेको तुलसीपुर उपमहानगरपालिकाले जनाएको छ । पिडितलाई क्षेतीका आधारमा राहात उपलब्ध गराउदै आएको नगरपालिकाले जनाएको छ । पालिकाको बजेटको अवस्था अनुसार पालिकाले नै आवश्यक निर्णय गरेर राहत दिदै आएको हो । तर आपतकालिन अवस्थामा भने शाखा तथा नगर प्रमुखको आदेश अनुसार आवश्यक्ताका आधारमा राहत दिने गरिएको छ । जुन कोषमा प्रत्येक वर्ष ५० लाख रुपैंया अनिवार्य जम्मा गर्ने व्यवस्था समेत गरिएको छ । अहिले सम्मको अवस्थामा घर गोठ भत्केको, जलेको तथा क्षति भएको अवस्थामा बढीमा २५ हजार, पशुचौपायामा भैंसी मरेको अवस्थामा प्रतिगोटा ५ हजार तथा बढीमा २५ हजार, गाई गोरु मरेमा प्रतिगोटा ३ हजार तथा बढीमा २५ हजार, माछाको प्रति भुरा २ रुपैयाँ तथा बढीमा २५ हजार, पंछीहरुको प्रतिगोटाको १ सय रुपैयाँ तथा बढीमा २५ हजार, मानवीय क्षति भएमा १ लाख, बालीनाली लगाएतमा पुगेको क्षतिको अवस्था मुल्याङन गरेर राहत उपलब्ध गराउँदै आएको नगरपालिकाले जनाएको छ ।
जोखिम क्षेत्र पहिचान
तुलसीपुर उपमहानगरपालिका भित्रमा विपद्का घटनाहरु हुन सक्ने सम्भावित ठाउँहरुको पनि पहिचान गरिएको छ । बबई नदीबाट बाढी, डुवान तथा कटान भई प्रभावित हुन सक्ने क्षेत्रहरु तुलसीपुरको दक्षिण भेगका रहेका वडा नम्बर ११, १२, १३ र १४ रहेका छन् भने ग्वार खोला, पातुखोलामा पनि उतिकै जोखिम रहेको छ । यस्तै पहिरोबाट प्रभावित हुनसक्ने सम्भावित क्षेत्रहरु तुलसीपुरका वडा नम्बर १ को पहाडी क्षेत्र, ३ को थर्कोट, राम्री लगाएतका क्षेत्र, ४ नम्बर वडाको मुलकोट लगाएका क्षेत्र र वडा नम्बर १९ को छिल्लीकोट लगाएतका क्षेत्र रहेका छन् ।।