काठमाडौं, १९ श्रावन । नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ । विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमीमाथि यही साउन १५ गते कुटपिट भएको थियो ।
कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो । लिङ्थेपको क्रशर उद्योगले छ लाख ४० रुपैयाँ बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताउनुभयो । कर्मचारीमाथि कुटपिट भएपछि मादीको शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ ।।