लक्ष्मण विश्वकर्मा, तुलसीपुर, ९ जेठ ।
सरकारको निशुल्क शिक्षा नारामै सिमित जस्तै भएको छ । निशुल्क शिक्षा भन्ने तर अनेकौ बहानामा विद्यालयहरुले शुल्क लिदा आर्थिक अभावकै कारण कयौ बालवालिका पढ्न बाट बञ्चीत भएका छन । यता दाङको तुलसीपुरमा एक बालक आर्थिक अभावकै कारण विद्यालय जानबाट बन्चित भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ पहरेखोला बस्ने शुसिला विकका छोरा १२ वर्षिय कुवेर विक आर्थिक अभावका कारण विद्यालय जानबाट बन्चित भएका हुन् । उनी कक्षा ६ मा अध्ययन गर्नुपर्ने भएपनि अहिले सम्म कुनै विद्यालयमा भर्ना हुन सकेका छैनन् ।
तुलसीपुर ४ मुल्कोटमा रहेको शिद्धेश्वरी प्राथमिक विद्यालयमा १ कक्षा देखी ५ कक्षा सम्म अध्ययन पुरा गरी ६ कक्षामा अध्ययन गर्न उनलाई घरको आर्थिक समस्याले अहिले सम्म कुनै विद्यालयमा भर्ना गर्न नसकीएको आमा शुसिलाको भनाई छ ।उक्त विद्यालय ५ कक्षा सम्म भएकाले ६ कक्षामा पढाउनका लागी अन्य बिद्यालयमा भर्ना गर्न पैसा नभएकै कारण समस्या भएकोे उनले बताएकी छिन् ।
ज्याला मजदुर गरेर ५ कक्षा सम्म जसोतसो पढाए पनि अहिले आएर पढाउन नसकिएको उनको भनाई छ । उनले छोरालाई बिद्यालय भर्ना गरीदिनको लागी पहल गरिदिन सम्वन्धित सवैमा आग्रह समेत गरेकी छिन् । सल्यान रिममा विवाह भएको बताउदै विवाह गरेको डेढ बर्षमा श्रीमान्ले अर्की श्रीमती लिएर भारत गएदेखी भेटघाट नभएको उनले बताएकी छिन् ।
श्रीमान्ले घरमा एक्लै छाडेपछि आफु ५ वर्षको छोरालाई साथमा लिएर माईतीघरमा बस्दै आएको उने बताएकी छिन । श्रीमान्ले छाडेपछि आफुले मजदुर गरेर अहिले सम्म छोराको पढाई खर्च र घर खर्च गुजरा चलाउदै आएको उनी बताउछीन् । छोराले पढ्ने रहर गरीरहेको छ तर पैसा अभावकै कारण बिद्यालय भर्ना गर्न नसकीएको उनको भनाई ।
शिद्धेश्वरी प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पुनले आफनो विद्यालयमा ५ कक्षा सम्म कुवेरलाई निशुल्क पठन पाठन गराएको बताउदै कुनै विद्यालयले कक्षा ६ मा भर्ना गरेमा आफनो विद्यालयले निशुल्क सर्टिफिकेट उपलब्ध गराउने उद्घोष गरेका छन् ।।