
काठमाडौं, १६ श्रावन । मनसुन सक्रिय हुँदा अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँ विस्तार भएको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार हालसम्म मुलुकभर ९२ दशमलव ४ प्रतिशत रोपाइँ सकिएको छ । जबकि गत वर्ष यही अवधिसम्म जम्मा ७८ दशमलव १ प्रतिशत रोपाइँ भएको थियो । मन्त्रालयका अनुसार यस वर्ष १२ लाख ९२ हजार दुई सय २१ दशमलव ६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभर धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ९८ हजार दुई सय ७३ रहेको छ । यस वर्ष कोशी प्रदेशमा ९० दशमलव ७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मधेस प्रदेशमा गत वर्ष ५८ दशमलव ८ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष हालसम्म ९२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
बागमती प्रदेशमा पनि रोपाइँको अवस्था बढेको तथ्याङ्कले देखाएको छ । यस प्रदेशमा अघिल्लो वर्ष ८० दशमलव १ प्रतिशत रोपाइँ भएकामा यस वर्ष बढेर ९० दशमलव ८ प्रतिशत पुगेको छ । गण्डकी प्रदेशमा गत वर्ष ८२ दशमलव ३ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९१ दशमलव ९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ८० दशमलव ९ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ९१ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यसैगरी कर्णाली प्रदेशमा गत वर्ष ८५ प्रतिशत मात्रै रोपाइँ भएकामा यस वर्ष ९६ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । सुदूरपश्चिममा गत वर्ष यही अवधिमा ९९ दशमलव २ प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९९ दशमलव ३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।।