बालबालिकाको मोबाइल हेर्ने बानी हटाउन सङ्गीत कक्षा

पाल्पा, १० श्रावन ।  अहिले बालबालिकाले मोबाइलमा बढी समय व्यतित गर्न थालेका छन् । उनीहरु समय मिल्नासाथ मोबाइलमा झुम्मिन्छन् । बालबालिका मोबाइलप्रति आकर्षित हुन थालेपछि त्यसलाई हटाउन पाल्पाको रामपुर नगरपालिका–५ रामपुर आधारभूत विद्यालय अहिले सङ्गीतमय हुन थालेको छ । विद्यालयले सुरुवात गरेको सङ्गीत कक्षाले विद्यार्थी, अभिभावक, समुदायका अन्य विद्यालय, सरोकारवालाको ध्यानसमेत तानिरहेको छ । बिहानको समयमा सङ्गीत कक्षा चलिरहेको छ । विद्यालय समयमा पढाइ प्रभावित नहोस् भनेर बिहान सङ्गीत कक्षा सञ्चालन गरिएको विद्यालयले जनाएको छ ।

यो सिकाइले छिमेकी विद्यालय तथा समुदायमा राम्रो प्रभाव पारेको छ । विद्यार्थीलाई घरमा मोबाइल हेर्ने बानी हटाउन, बिदाको दिनमा विद्यार्थीले केही नयाँ कुरा सिकुन भनेर शैक्षिक सत्रको वर्षे बिदा शुरु भएपछि बिहानमा वाद्यवादन सिकाउन थालिएको प्रधानाध्यापक विजय शर्मा बताउनुभएको । विद्यालयले हार्मोनियम, झ्याली, मादल, झुर्मा, बाँसुरी, मजुरा लगायतका विभिन्न बाद्यवादनका सामग्रीको बन्दोबस्त गरेको छ । बाद्यवादनका सामग्री खरिदका लागि जापानी नागरिक काजुमासा काकीमी (ओकेबाजे) ले ५० हजार रुपैयाँ सहयोग गरेको प्रधानाध्यापक शर्माले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ साउन १० गते बिहिवार
प्रतिक्रिया