
खासगरी धर्म, संस्कृति र समसामयिक विषयवस्तुमा कलम चलाएर बौद्धिक विमर्श गर्न रुचाउने लेखक रामेश्वरी पन्त ज्यूद्वारा खोज अनुसन्धान र निकै मिहिनेत साथ तयार पारिएको पुस्तक ‘स्वस्थानी व्रत कथाः नारी शक्तिको महिमा नारीकै शोषण’ पढेपछि यस पुस्तकको बारेमा केही लेख्ने जमर्को गर्दै छु । लेखककै भनाइ अनुसार शुरु शुरुमा बाल्यकालीन अवस्था देखिनै घरमा स्वस्थानी व्रतकथा जस्ता धार्मिक ग्रन्थ पढ्ने पढाउने, सुन्ने सुनाउने सामाजिक परिपाटी र वातावरणले गर्दा पनि लेखक उपरोक्त धार्मिक ग्रन्थ सुन्न अभ्यस्त भएकी र त्यसमा अभिव्यक्त पात्रहरू गोमा, शिव भट्ट, शिव शर्मा, नवराज, सतीदेवी, पार्वती, चन्द्रावती, वृन्दा, शिव, विष्णु, जालन्धर, इन्द्र जस्ता पात्रहरूको अन्तरविरोध र अस्वाभाविक चरित्र र भूमिकाप्रति लेखक शुरु देखिनै निकै जिज्ञासा, सन्देह र अभिरुचिका साथ आफूभन्दा मान्यजनसँग जवाफ खोज्दा चित्तबुझ्दो जवाफ नपाएकी र आफैभित्र प्रश्न राखी समयक्रममा उत्सुक र जिज्ञासु मनले त्यस विषयमा तत्कालीन समाजको सामाजिक, धार्मिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रभावबारेमा जाँचपड्ताल गर्न र त्यसको गुह्य कुरा पत्ता लगाउन स्वस्थानी व्रतकथा विषय शीर्षक रोजी निकै मिहिनेत, जाँगर र सुझका साथ स्वस्थानीसँग सम्बन्धित मुख्य स्थान काठमाडौँको साँखु, शाली नदी क्षेत्र लगायतका विभिन्न ठाँउहरुमा भ्रमण अवलोकन गरी आस्थावान, भक्तजन, व्रतालु, स्थानीय मानिसहरू लगायत विभिन्न विद्वानहरूसँग छलफल र संवादमा जुटी स्वस्थानी व्रतकथा भित्रका अन्तरकुन्तर छिमल्ने प्रयासमा निरन्तर लागेर नै यो आलोचनात्मक चेतको ओजस्वी र गुनिलो पुस्तक तयार भएको छ ।
स्वस्थानी व्रतकथामा स्वस्थानी परमेश्वरी अर्थात् नारीशक्तिको महिमागान गरिएको तर त्यस कथामा वर्णीत पुरुष पात्रहरुले कसरी यस कथाभित्रका नारी पात्रहरूमाथि अन्यायी, यौन दुराचार, पीडक र सम्बेदनाहीन व्यबहार देखाए ? पितृ सत्ताले कसरी युगौँदेखि निकै सुनियोजित, षड्यन्त्रपूर्ण तरिकाले स्वस्थानी लगायतका विभिन्न धार्मिक ग्रन्थहरू र शास्त्रहरू रचना गरि महिलामाथि विभेद, शोषण, दलन र उत्पीडनलाई निरन्तर कायम राख्न उद्धत रह्यो ? कसरी नारीहरूलाई जहिल्यै अदना, असहाय, अबला, र निरीह पात्रको रुपमा खडा गरियो ? कथित अनुशासित, सहनशील, धैर्य र संयमी हुनु नै महिलाको गहना हो भन्दै फुक्र्याउँंदै आफूमाथि भएगरेका तमाम अन्याय, अत्याचार, शोषण र दलन विरुद्ध चूँ नबोल्न, मूक रहन उर्दी जारी ग¥यो ? कथं आफूमाथि भए गरेका अन्यायी र पीडक हर्कत विरुद्ध प्रतिरोधी जायज आवाज निकालेमा, सवाल उठाएमा कसरी पुरुष सत्ताले अनुशासनहीन, छाडा, बेशरम, मुखाले, बेसोमती र पोथी बासेको उपमा दिँदै सार्वजनिक मानमर्दन र अनादर गर्ने यत्नमा जुट्यो ? यसबारेमा लेखकले पुस्तक मार्फत् स्वस्थानी व्रतकथामा हावी भएका, हाइहुकुम चलाएका, सर्वमान्य, पूज्य र आदर्शको रुपमा चित्रित गरिएका शिव, विष्णु, ईन्द्र, जालन्धर जस्ता पुरुष पात्रहरुको चरीत्र, अधिनायकत्व र मनपर्दी एवं ज्याद्रो हर्कतको उछित्तो काढेकी छन् । रूढ परम्परामाथि गैंती र बेल्चारुपि बैचारिक हतियारको प्रयोग गरि त्यसका जरा खल्बल्याउने, चर्काउने र भत्काउने प्रयत्नमा जुटेकी छन् । ‘त्यसो होईन यसो हो’ भन्दै त्यसको गूढार्थ र यथार्थता उजिल्याउन जागरुक अभियानको नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन् ।
स्वस्थानी व्रतकथामा अभिव्यक्त स्वर र आवाजलाई बिना सन्देह, बिना प्रश्न र बिना सवाल थपडी बजाइरहेको र ‘क्याबात’को संज्ञा दिंदै आत्मसातीकरण र अनुशरणमा निमग्न परम्परावादी र रूढ बिचारका एक हुल जमातले पुस्तकमा उठान गरिएका आलोचनात्मक चेत सहितको बिषयवस्तु उपर लेखक माथि अस्वस्थ टिप्पणी पनि हुनसक्ने सम्भावना देखिन्छ । तर माथि उल्लेख गरेझैं लेखकले आफूउपर परम्परावादी र रूढ मनस्थितिको खेमाबाट भद्दा र अस्वस्थ टिप्पणी पनि आउन सक्ने ठम्याएर नै मसक्कै आँटी यस मुद्दामा बौद्धिक बिमर्श गर्न रुचाएको प्रष्टै बुझिन्छ ।
पुस्तकभित्र खाली आलोचना योग्य विषय वस्तु मात्र उठान नगरी त्यहाँ भित्र हिजोका निरक्षर आमा, दिदीबहिनी र छोरीहरूले स्वस्थानी व्रतकथा सुन्ने, सुनाउने प्रथा र परिपाटीले गर्दा उनीहरुले साक्षर हुने, सिक्ने, सिकाउने तथा जिज्ञासा प्रकट गर्ने भावनाको विकास भएको, व्रत बस्दा सफासुग्घर हुनुपर्ने जस्ता स्वास्थ्य चेतनाका सकारात्मक सन्देश रहेको, हिमवत् क्षेत्रमा पूर्वीय दार्शनिक ऋषिहरूले ब्रह्माण्डको उत्पत्ति, ग्रह, नक्षत्र, ताल, कोण, पृथ्वीको समय र जीवन र जगतको बारेमा सोच बिचार गर्ने परिपाटी त्यस समय र चेतनामा हुनु चानचुने कुरो होइन भन्दै त्यसको सकारात्मक पायनबारे पनि चर्चा गर्न कन्जुस्याइँ गरिएको छैन । तर धर्मको लेप लगाइएको एउटा काल्पनिक कथालाई सत्य र यथार्थ मानि व्यबहारमा उतार्न गरिएको मनोवैज्ञानिक ढांचाको उर्दी गुलियो पोतेको बिषरुपि रोटी रहेकाले स्वस्थानी व्रतकथाले महिलाहरूको मनोवैज्ञानिक एवं संवेदनशील भावना र मानसिकताबाट पितृसत्तालाई अकण्टक जोगाइराख्न नजानिंदो गरि मद्दत पुगेको परिस्थिति निर्माण भएकोबारे पनि प्रकाश पार्ने कोशिस गरिएको छ ।
स्वस्थानी व्रतकथाले हकिकतमा बालविवाह, अनमेलविवाह, बहुविवाह, जोरजबर्जस्ती, यौन दुराचार, झुटो र जालसाजीपूर्ण व्यबहारलाई प्रश्रय दिई धार्मिक मखमलीको बर्को ओढाई चर्को वकालत गरेको हुँदा कुनै पनि प्रकारका महिला हिंसा थोपर्न उद्दत प्रथा वा संस्कार किमार्थ पनि पुज्य, आदर्श योग्य र अनुशरण योग्य हुनैसक्तैन भन्ने दलिल पेश गर्दै लेखकले आजको समय चेतनामा महिला अधिकार, बाल अधिकार र सामाजिक न्यायको मूल मान्यताबाट हेर्ने हो भने पनि आजका बालबालिकालाई स्वस्थानी व्रतकथा पढ्न दिनु कानुनी हिसाबले पनि दण्डनीय ठहर्छ भन्दै महिलालाइ कम आँक्ने गरि, होच्याउने र अपमान गर्ने गरि, भोग्या, अदना र निरीह पात्रको रुपमा खडा गरि रचित त्यस कथा सारमाथि प्रश्न गर्न, जिज्ञासा र सन्देह गर्न, नामन्जुर तथा अस्विकार गर्न आँंटी र हिम्मती बन्नुपर्ने राय प्रकट गर्दै सम्पूर्ण आमा दिदिबहिनी र छोरीहरुलाई सार्वजनिक आह्वान र अपील गरेकी छन् ।
‘तत्कालीन परिस्थिति र चेतनामा स्वस्थानी व्रतकथा तयार पारिएकाले त्यसलाई त्यही रुपमा लिन, अथ्र्याउन र अन्यथा टिप्पणी नगर्न’ भन्ने आग्रही र मूढी बिचार उपर भन्न सकिन्छ– मानौं हिजोको समाज व्यवस्था र चेतनामा त्यस किसिमको बिचार प्रवाह भयो रे ! तर आजको परिस्थिति र चेतनामा पनि त्यसलाई त्यही रुपमा लिन, आदर्श योग्य र अनुशरण गर्न उपयुक्त छैन र समय सान्दर्भिक छैन भन्न सक्नुपर्ने होईन र ? त्यसमा भएका खराबी, अमानवीयपन, पीडक वरव्यबहार, अन्धविश्वासरुपि धारणा, असामाजिक र अवैज्ञानिक पक्षको सन्देश प्रवाहलाई दृढता पूर्वक अस्विकार र नामन्जुर गर्न सम्पूर्ण आमा दिदीबहिनी, छोरीहरू सामुन्ने यक्ष प्रश्न खडा भएको छैन र ?
वास्तवमा हाम्रा पूर्वीय दर्शन र परम्परा अन्तर्गतका चाडवाड, रीतिरिवाजहरू भित्र असंख्य राम्रा पक्ष छन् । त्यसमा भएका जीवनदायि, सकारात्मक र वैज्ञानिक पक्षलाई अनुशरण गर्न र आत्मसातीकरण गर्न कन्जुस्याइँ नगरी त्यहाँभित्र रहेका नकारात्मक पक्ष, अवैज्ञानिक र अन्धविश्वासरुपि संदेश प्रवाहका संस्कार र प्रथालाई बेहिच्किचाहट अस्विकार गर्न सक्नुपर्छ, विभेद कुरीति, विकृती र विसंगति उपर बोल्नु, लेख्नु, ऐक्यबद्धता र समर्थनभाव जाहेर गर्दै बौद्धिक विमर्शमा भाग लिनु एक सचेत नागरिकको कर्तव्य हुन जाने ठहर गरेर नै लेखकले यो पुस्तक तयार पारेको हो भन्नेमा कुनै शंका छैन । प्रस्तुत पुस्तक यसैकारण पठनीय र संग्रहणीय रहेको छ । सम्भवतः नेपालको प्राज्ञीक थलोमा स्वस्थानी व्रतकथालाई प्रवेश गराउँदै समाजशास्त्रीय हिसाबले विश्लेषण गरि बहसको थालनी गर्ने पहिलो व्यक्ति रामेश्वरी पन्त नै हुन् जसले आफ्नो अनुसन्धान कृतिलाई पुस्तकाकार रुप दिएर पाठकसामू ल्याएकी छन् ।
यसर्थ पनि यो भन्न सकिन्छ कि ; यो गहन पुस्तक नेपाली समाजको प्रत्येक घर घरमा पुग्न जरुरी छ । अन्त्यमा, लेखकले उठाएको जरुरी सार्वजनिक सवालको यो मुद्दा, एजेन्डा र सुझमाथि सहमति र समर्थनभाव जाहेर गर्दै यति गुनिलो र ओजश्वी भूमिका सहितको पुस्तक प्रकाशित गरि हामी पाठकमाझ उपलब्ध गराएकोमा लेखकप्रति हार्दिक बधाई तथा आगामी दिनमा उहाँको मस्तिष्क मन्थनमा झनै खँदिलो र ओजश्वी सन्देश प्रवाहयुक्त विचारखजानाको बिजारोपण होस् । भब्य शुभकामना !
लेखक राम बहादु जिसी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङमा प्रहरी निरीक्षक पदमा कार्यरत हुनुहुन्छ ।