तुलसीपुर,६ जेठ ।
नेपाल कम्युनिष्ट आन्दोलनका धरोहर नेत्रलाल पौडेल अभागीको ३४औं स्मृति दिवसका अवसरमा आज घोराहीमा कार्यकर्ता भेला आयोजना गरिएको छ । भेलालाई सम्वोधन गर्नका लागि पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपाल लगायतका नेताहरु दाङ आउनुहुने भएको छ ।
विगतमा नेकपा एमालेले मनाउँदै आएको नेत्रलाल पौडेल अभागीको स्मृति दिवस नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि संयुक्त रुपमा मनाइने भएको छ । नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा हुने ३४ औं नेत्रलाल स्मृति दिवसका अवसरमा घोराही उप महानगरपालिकाको सभाकक्षमा कार्यक्रम आयोजना गरिएको छ ।
नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खड्का र नेकपा माओवादी केन्द्र दाङका इञ्चार्ज जीवन गौतमले बेग्ला बेग्लै विज्ञप्ती जारी गरेर कार्यक्रममा सहभागिताका लागि आह्वान गर्नुभएको छ ।
नेपालमा पछिल्लो पटक विकशित राजनीतिक घटनाक्रम पछि आयोजना गरिएको कार्यक्रमलाई नेकपाका बरिष्ठ नेता नेपाल लगायत स्थायी कमिटी सदस्यद्वय युवराज ज्ञवाली र शंकर पोखरेलका साथै नेकपाका केन्द्रका केन्द्रीय सदस्य जनार्दन शर्मा प्रभाकर लगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
दङाली धर्तिका सतिसाल नेत्रलाल पौडेल अभागीको २०४१ साल जेठ ६ गतेका दिन निधन भएको थियो । उहाँ तत्कालिन अवस्थामा नेकपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।