कोहलपुर नगरपालिका बाढी र डुबानको अत्यधिक जोखिममा

बाँके, २४ असार। बाँकेको कोहलपुर नगरपालिका पनि यस वर्ष बाढी र डुबानको अत्यधिक जोखिममा रहेको प्रक्षेपण गरिएको छ ।कोहलपुर नगरपालिकाको नगर विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ मा सो कुरा उल्लेख गर्नुहुँदै यस वर्ष वर्षा बढी भएकाले बाढी र डुबानबाट नगरपालिकाका १५ वडाका तीन हजार घरधुरीका १३ हजार ६३० परिवार उच्च जोखिममा रहेको प्रक्षेपण गरिएको हो ।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले सो कुराको जानकारी गराउनुहुँदै आइतबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरेको बताउनुभयो । उहाँले अब सोही योजना अनुसार क्षतिलाई न्यूनीकरण गर्दै जाने गरी तीव्र गतिमा काम गर्न विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको बताउनुभयो । एक पटकको ठुलो वर्षा भई सकेर नगरपालिकाका विभिन्न ठाउँ डुबानमा परिसकिएपछि मात्रै ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१’ लाई पारित गरिएकोमा त्यसको सर्वसाधारणले आलोचना समेत गरेका छन् ।।

प्रकाशित मिति : २०८१ असार २५ गते सोमवार
प्रतिक्रिया