दाङ , ३ जेठ ।
एमाले र माओवादी केन्द्र बीच पार्टी एकता भएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ । बालुवाटारमा बसेको संयुक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले दुबै पार्टीको केन्द्रीय कमिटी भंग भएको घोषणा गर्नुभयो । उहाँले ९ सदस्यीय सचिवालय गठनको निर्णय सुनाउनुभयो । त्यस्तै ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको घोषणा समेत गर्नुभयो । एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको थियो । दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगका निवेदन दिनेछन् । तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ ।
पार्टी एकतासँगै ९ सदस्यीय सचिवालय गठन गरेपछि दुवै पार्टीमा रहेका केही महत्वपूर्ण नेता पनि सचिवालयमा परेका छैनन । ९ सदस्यीय समितिले नै अब पार्टी सञ्चालन गर्नेछ । ९ सदस्यमा एमालेबाट ६ जना र माओवादीबाट ३ जनालाई राखिएको छ । सचिवालयमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षमा रुपमा रहनुहुनेछ । समितिमा एमालेबाट झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल हुनुहुन्छ ।
माओवादी केन्द्रबाट प्रचण्ड बाहेक नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल हुनुहुन्छ । एमाले नेता विष्णु पौडेललाई महासचिव र नारायणकाजी श्रेष्ठलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिइएको छ । समितिमा एमालेबाट गौतम वाहेक अरु उपाध्यक्ष पर्नुभएको छैन । पौडेललाई एमाले अध्यक्ष ओलीको प्रस्तावमा जिम्मेवारी दिइएको हो । अब बन्ने स्थायी समितिमा पनि सचिवसम्मका नेता अटाउने एक नेताले जानकारी दिनुभयो ।
एकीकृत पार्टीको स्थायी कमिटी ४३ सदस्यीय हुनेछ, जसमा एमालेबाट २५ र माओवादीबाट १८ नेता हुनेछन् । केन्द्रीय कमिटीमा दुइटै दलमा रहेका केन्द्रीय सदस्य सबै पर्नेछन् । ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । कमिटीमा एमालेबाट २ सय ४१ र माओवादीबाट २ सय नेता राख्ने सहमति भएको छ ।