गरिबका बालबालिकालाई एक बर्ष निशुल्क पढाउने

तुलसीपुर, ३ जेठ
तुलसीपरका एक युवाले गरिबका बालबालिकाले पढ्ने भनेर परिचित विद्यालयमा निशुल्क पढाउने भएका छन् । बिहिबार ज्ञान ज्योति प्राथामिक विद्यालय तुलसीपुर–५ मा एक कार्यक्रमको आयोजना गरेर तुलसीपुर निवासी कमल न्यौपानेले एक बर्षसम्म विद्यालयमा निःशुल्क पढाउने घोषणा गरेको विद्यालयका प्राधानाध्यापक मेघराज घिमिरेले बताउनुभयो ।
कुनै पनि बालबालिका आर्थिक कारणले शिक्षाको पहुँचबाट बञ्चि नहुन भन्ने उद्देश्यले पढाउन लागेको न्यौपानेले बताउनुभयो ।
‘विभिन्न व्यक्तिले समाज र राष्ट्रका लागि ठूलो त्याग, तपस्या र बलिदान गरेका हुन्छन्, न्यौपाने भन्नुभयो, ‘दैनिक ज्याला मजदुरी गरिखाने बर्गका छोराछोरीको भविष्य उज्यालो बनाउन एक बर्षको समय छुट्याएको हुँ ।’
ग्रेट अरिको बोडिङ स्कुलमा पलसटुमा पढाउदै आएका न्यौपानेले आफुले सिकेको ज्ञान र सिपलाई अधिकतम रुपमा कलिला बालबालिकालाई सिकाउने बताउनुभयो । शिक्षकालागि समन्वयको भूमिका तुलसीपुर नगर जेसीजले गरेको थियो । जेसीजले शिक्षक हस्तान्तरण कार्यक्रम राखेर शिक्षक हस्तान्तरण र चार वटा विद्यालयका अति गरिब र जेहन्दार १७ बालबालिकालाई प्रतिव्यक्ति पाँच सयका दरले छात्रवृत्ती रकम समेत प्रदान गरेको थियो ।
जेसीजका अध्यक्ष दिपेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताले सबैले समन्वयकारी भूमिका खेलेर शिक्षालाई जीवन उपयोगी बनाउनु पर्ने बताएका थिए । सरकारी र नीजि विचको शिक्षालाई तुलना नगरी आपसी रुपमा समन्वय गरी सिक्ने र सिकाउने गरेर एकरुपता ल्याउनु पर्नेमा जोड दिएका थिए । सो अवसरमा जेसीजका राष्ट्रिय उपाध्यक्ष विजय घिमिरे, तुलसीपुर उपमहानगरपालिका नगर कार्यपालिका सदस्य देवराज विक, शिक्षा शाखा प्रमुख भाष्कर गौतम, मुकुन्द रिजाल, तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष द्धोय झरेन्द्र खरेल, सुर्यप्रसाद शर्मा, जेसीजका कानुनी सल्लाहाकार भोजराज न्यौपाने, आधारभूत विद्यालय दोघरेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मक्ति न्यौपाने, जेसीज मुल सप्ताहका संयोजक मानबहादुर बस्नेत, माहासचिव नारायण भट्टराई लगाएतले आ–आफना विचार व्यक्त गरेका थिए ।

 

 

 

प्रकाशित मिति : २०७५ जेष्ठ ३ गते बिहिवार
प्रतिक्रिया