
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले सुत्केरीलाई भाले र मृत्यु संस्कारमा घ्यु दिने भएको छ । मातृशिशु मृत्युदर न्यूनिकरणका लागि सुत्केरीलाई भाले दिने कार्यक्रम अघि सारेको वडा अध्यक्ष मानबहादुर रावतले जानकारी दिनुभयो । १५ सय रुपैयाँ बराबरको एउटा भाले पाउनका लागि गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगेर ८ पटक चेक जाँच गरेको हुनुपर्ने छ । त्यसैगरी वडा र जनताबीचको सम्बन्धलाई नजिक बनाउनुका साथै अप्ठेरोमा वडा सरकारको अनुभूति दिलाउन मृत्यु संस्कारमा एक किलो घ्यू कार्यक्रम ल्याएको अध्यक्ष रावतले बताउनुभयो । यसका लागि वडामा रहेका किसानबाट घ्यू खरिद गरिने छ । जसले किसानले उत्पादन रेको घ्युको बजारीकरणमा सहजता हुने वडाले अपेक्षा गरेको छ ।
यस्तै, वडाले सर्प दंशका बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । सर्पको टोकाईबाट उपचारको लागि तुलसीपुर, घोराही, लमही, बाँके लगायतका स्थानमा जानुपर्ने अवस्थामा निःशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने भएको हो । विशेषत वर्षायामको समयमा सर्पले टोक्दा उपचारको लागि अन्यत्र लैजान आर्थिक अवस्था कमजोर भएकालाई थप सहज हुने भएको छ । आगामी वर्षदेखि सञ्चालन गरिने यी तीनवटै कार्यक्रमका लागि वडाले आवश्यक बजेट विनियोजन गरेको छ । देशका ६ हजार ७ सय ४२ वडा वडा मध्य लोकप्रिय कार्यक्रम लागू गर्ने तुलसीपुरको – ११ नम्बर वडा पहिलो वडा भएकाे दाबी गरिएकाे छ ।