सल्यान जिल्ला अस्पतालको भवन निर्माण कार्य रोकियो

सल्यान,  १२ असार ।  सल्यानमा अझै झाडापखालाको प्रकोप कायमै रहेको छ । यस्तै निमोनियको समस्या संगै कम तौलको बच्चा जन्मीने समस्या पनि जिल्लामा देखिएको छ । जनशक्ति, भौतिक पूर्वाधारको अभाव संगै पानीको समस्या, सिमित श्रोतसाधनका कारण जिल्ला अस्पतालको सेवा समेत प्रभावकारी बन्न सकेको छैन । स्वास्थ्य सेवा कार्यालय सल्यानले पत्रकार तथा संचारकर्मीहरुसंग गरेको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य सेवा कार्यालयबाट सम्पादीत कार्यक्रम एवम् जिल्ला अस्पतालको सेवा प्रवाहको बारेमा वृहत रुपमा छलफल गरिएको छ । स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०।०८१ को विवरण अनुसार जिल्लामा ८।६ प्रतिशत नवजात शिशु २.५ किलो भन्दा कम तौल भएका जन्मीएका छन् । चालु आर्थिक वर्षमै प्रति हजार २ देखि ५९ महिनाका ३७० जनामा श्वासप्रश्वास, ४७ जनामा निमोनिया र १८२ जनामा झाडापखालाको समस्या देखिएको छ । स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक डाक्टर अर्जुन बुढाले सल्यान जिल्ला अस्पताल १५ बेड क्षमताको रहेको र जिल्लाको व्यवस्थापनमा ४५ बेड पुर्याइएको भन्दै अस्पताललाई ५० बेड क्षमतामा सञ्चालनका लागि विभिन्न कठिनाईहरु आइपरेको उल्लेख गर्नुभयो । विशेषज्ञ डाक्टर अभावमा सेवा प्रवाहमा समस्या आइरहेको छ भने ५० बेड स्तरोन्नतीका लागि भवन निर्माणको काम रोकिएको छ । डाक्टर बुढाका अनुसार ३४ करोड बढी लागतमा निर्माणाधिन अस्पताल भवन विगत ३ महिनादेखी रोकिएको छ । गत चैत्र महिनामा भवन निर्माणको म्याद सकिएको भएपनि ठेकेदारको लापरवाहीको कारण म्याद थप हुन सकेको छैन । करिव २५ प्रतिशत निर्माण कार्य बाँकी रहेको छ ।

जिल्ला अस्पतालमा रहेको पानीको समस्या, कम्पाउण्डमा वाल निर्माण लगाएतका कामका लागि स्थानीय तहहरुको पनि सहयोगको अपेक्षा अस्पताल परिवारको छ । सल्यान अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष प्रमोद कुमार श्रेठले समग्र जिल्लावासीको प्रभावकारी स्वास्थ्य उपचार सेवाका लागि अस्पताल विकासमा सबै स्थानीय तहको सहयोग आवश्यक रहेको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा तथ्यांक अधिकृत हरि बहादुर घर्तीले जिल्लाभरी रहेका स्वास्थ्य संस्था तथा मानव संशाधनको अवस्था, न्युनतम सेवा मापदण्डको अवस्था, खोप तथा पोषण कार्यक्रम, नवशिशु तथा बालरोगको एकिकृत व्यवस्थापन, प्रसुती सेवा, परिवार योजना, रोग नियन्त्रण कार्यक्रम लगाएतको बारे तथ्यांकहरु प्रस्तुत गर्दै स्थानीय तह स्तरमा गरिएका मुख्य क्रियाकलापहरुको बारेमा अवगत गराउनुभएको थियो । आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारी स्थानीय तहको भएका कारण अहिले स्वास्थ्य सेवा कार्यालय समन्वयकारी भूमिकामा मात्रै रहेकाले धेरै योजना, कार्यक्रम नभएको कार्यालयले जनाएको छ । आम नागरिकलाई स्वास्थ्य सेवा कार्यालय तथा जिल्ला अस्पतालबाट प्रवाह हुने सेवाको आम नागरिकलाई जानकारी गराउने तथा अस्पताल विकासको लागि सबैको सहयोगको अपेक्षा सहित संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको कार्यालयका थलराज डिसीले बताउनुभयो ।।

प्रकाशित मिति : २०८१ असार १३ गते बुधवार
प्रतिक्रिया