तुलसीपुर, २ जेठ
सम्झौता अनुसार रकम निकासा नहुँदा इलाका प्रशासन कार्यालयको भवन निर्माणको काम सुस्त गतिमा अघि बढेको छ ।
निर्माण व्यवसायीले समयमै आर्थिक रकम नपाउँदा भवन निर्माण कार्य कछुवाको गतिमा अघि बढेको हो । जुद्ध एण्ड पूर्ण निर्माण सेवाले बिस कोठाको ढाईतले भवन निर्माण गर्न भ्याट वाह्यक २ करोड ४९ लाख १० हजार २ सय ३ रुपैयाँमा ठेक्का लिएको थियो ।
बिल पेश गरेको दुई महिना वितिसक्दा समेत आर्थिक रकम निकासा नभएपछि चरम आर्थिक संकटमा परेको जुद्ध एण्ड पूर्ण निर्माण सेवाका प्रोप्राईटर पुर्ण भण्डारीले बताएका छन् । गएको फागुनमा ७४ लाखको बिल इलाका प्रशासन कार्यालयमा बुझाएपनि रकम निकासा नभएको भण्डारीले गुनासो गरे । निर्माण व्यवसायी भण्डारीले भने, ‘बिल पेश गरेको २८ दिनभित्र रकम पाउनु पर्ने व्यवस्था, सम्झौता हुन्छ । तर मैले अझै सम्म पाउन सकेको छैन कसरी काम गरु ?’
२५ असाढ २०७६ मा निर्माण कार्य पुरा गर्ने गरी निर्माण सेवाले २५ असाढ २०७४ बाट कामको थालनी गरेको थियो । ‘म पनि काम गरी खाने मान्छे हुँ,’ भण्डारीले भने, ‘ हजारका होईन लाखका कुरा छन् । काम छोडु पेटीवाल ठेकदारलाई हर्जना तिनुपर्छ, नछोडु पैसा छैन व्यापारीले उधारो माल दिन छोडी सके म त बरबादै भए ।’
तोकेको समयसिमा अगावै काम सक्ने तयारीमा रहेका निर्माण व्यवसायी भण्डारीले बिल अनुसारको भुक्तानी समयमै नपाउदा आफनो घरखेत जान सक्ने भन्दै तत्काल रकम निकासा गरिदिन सम्बनिधत पक्षलाई आग्रह गरेका छन् । यता इलाका प्रशासन कार्यालय तुलसीपुरले माथिबाटै रकम निकासा नभएकाले दिन नसकेको बताएको छ । गृहमन्त्रालयमा पटक पटक ताकेता गरेपनि कुनै सुनाई नभएको इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख धनबहादुर केसीले बताए । ‘गृहलाई भन्यो, अर्थलाई सिकाउछ, अर्थलाई भन्यो गृहलाई सिकाउछ,’ प्रमुख केसीले भने, एता र उता गर्दागर्दै अन्तिममा आएर रकमै छैन भनेर जवाफ दियो ।’
प्रमुख केसीले भने, ‘माथिबाट रकम आउने आशामा मैले पनि ठेकदारलाई ऋण काडेर १० लाख रुपैयाँ दिए रकम छैन भन्छ, म पनि फसे ।’