
दाङ, ३ असार । नेपालमा आयोजना गरिने कुनै पनि कार्यक्रममा नेता, मन्त्री, मेयरलाई बोलाइयो भने २/३ घण्टा पछाडि आउने गरेको देख्न र सुन्न पाइन्छ । कहिले काँही त अन्तिम समयमा आएर कार्यक्रमको प्रमुख अतिथिले नै आउन भ्याइएन भन्ने खबर पठाउने गर्छन । प्रमुख अतिथिलाई पर्खेर बसेकाहरु समेत आउँदासम्म अन्य अतिथि लगायत कार्यक्रम सहभागी नागरिक आत्तिपाट्टी हैरान हुन्छन् । यो वर्षौ देखिको देशैभरीको रोग हो । यसमा सुधार आउन निकै समय लाग्छ होला । यो लेखिरहँदा समयको परिपालना नगर्नेमा म पनि पर्छु । साथीभाइहरुले कहिले काँही फोनमा हेलो कहाँ हो । लौ चिया खाएर गफ गरौँ भन्छन् । लौ ठिक छ आउनुस् बसौँ । म फलानो ठाउँमा छु, यहाँ आउनलाई कति समय लाग्छ ? भनेर सोध्यो १० मिनेट भित्र आउँछु भन्ने जवाफ आउँछ । आधा घण्टा समय वित्दछ अँह त्यो साथी आउँदैन । करिब ९५ प्रतिशत नेपालीको बानी करिब करिब यस्तै बसेको छ ।
त्यसैले एउटा आम बोली छ, ‘नेपालीको टाइम’ । त्यही भएर १० बजे आयोजना गरेको कार्यक्रममा समयमै जाउँ भन्ने हो भने हैन अहिले के सुरु भएको होला र केहिबेरपछि जाउँला भनिन्छ । जसका कारण आयोजकले बोलाएको समय भन्दा १ /२ घण्टा पछि मात्रै अधिकांश कार्यक्रमहरू सुरु हुने गर्छन । यस्तै समयको महत्व र जिम्मेवारी बोध नगर्दा आज हामी प्राकृतिक स्रोत, साधन र सम्पदाले भरिपूर्ण देशका नागरिक भएर पनि गरिब भएर बाँचिरहेका छौ । समयको महत्व र जिम्मेवारी बोध गर्ने नागरिकका देशहरू आज विकास र समृद्धिको दृष्टिकोणले ठूलै फड्को मारिसके । समय र जिम्मेवारी पालना गर्ने देशका नागरिकहरू आर्थिक रूपले समेत सम्पन्न छन् ।
समयको लापरबाही गर्ने हामीहरू आज आर्थिक, सामाजिक, शैक्षिक, भौतिक विकास लगायत हरेक दृष्टिकोणले पछाडि परेका छौ । त्यसैले त आर्थिक सूचकाङ्कमा संसारका १९५ देशमध्ये १६५औँ रहेको नेपाल गरिब कि धनी भनेर बहस गर्नै पर्दैन । विश्व बैंक, एशियाली विकास बैंक तथा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय सहयोग संस्थाहरूबाट लिइँदै आएको वैदेशिक ऋण र अनुदानले पनि त्यही बुझाउँछ । विश्व बैंकको पछिल्लो तथ्याङ्कले नेपाललाई दक्षिण एशियाको सबैभन्दा गरिब मुलुकको रूपमा इंगित गरेको छ । त्यसकारण गरिबीको रेखाबाट माथि उठ्न हामीले एउटा संकल्प गर्नुपर्ने छ । त्यो हो, प्रतिवद्धता । के मा प्रतिवद्धता गर्ने ? समय र जिम्मेवारी बोधको । मैले केही समय अघि भोगेको एउटा अनुभव तपाईहरुलाई सुनाउँछु ।
यस्ताे थियाे कारण
जेठको १२ गते भिजिट भिसामा म (ओपेन्द्र बस्नेत) सहित तुलसीपुर उपमहानगरपालिका –६ का वडा अध्यक्ष वर्षात भण्डारी, चेतमान भण्डारी, विष्णु सुवेदी, नवराज सुवेदी, करण जिसी र प्रेम वली थाइ एयरको विमान मार्फत.थाइल्याण्ड, सिंगापुर र मलेसियाका लागि प्रस्थान गर्याै । विमान भित्रै हामी जस्तै भिजिट भिसामा हिँडेका अन्य जिल्लाका साथीहरूसँग पनि भेटघाट र एक आपसमा परिचय पनि भयो । पाँचथरको फिदिम नगरपालिका –७ रानीटार घर भएर हाल काठमाण्डौको जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिपत्र शाखामा कार्यरत अर्चना गुरुङ, उहाँकी आमा टिका माया गुरुङ, चितवनको कालीका नगरपालिका –२ पदमुर निवासी सविता लामा र अस्मी घलेकाबीचमा जहाजभित्रै चिनजान भयो । जहाजको पट्यारिलो लामो यात्रामा कोही जहाजभित्रै बियर खाएर झुम थिए भने कोही यात्रुले विभिन्न खानेकुराहरू एयर एयरहोस्टेजसँग मगाइरहेका थिए । कोही आफसमा गफिदै थिए । कोही घुम्न जाने देशहरू कस्ता होलान् भनेर मनमा कौतुहलता लिएर घेरिरहेका देखिन्थे । जहाजभित्र विभिन्न ब्रान्डका मदिरा, चिसो पेयपदार्थ, खाजायुक्त खानेकुरा किन्न पाइने सुविधा पनि हुँदोरहेछ । रोचक कुरा त के भने समय बिताउन वर्षात भण्डारी र अर्चना गुरुङ जहाजमै मोबाइलमा लुडो खेल्नुभयो । खेल्दा खेल्दा अर्चनाले ३ सय रुपैयाँ बाजी मार्नुभयो ।
यस्तै रमाइलो गर्दागर्दै हामी चढेको जहाज थाइको समय अनुसार राति ९ बजेर ४० मिनेट जादा बैङ्ककको डन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो । घुम्नका लागि गएका दाङ सहित पाँचथर, चितवन, नवलपरासी, काठमाण्डौका सबै साथीहरू जम्मा हुँदाहुँदै थाइको समय अनुसार रातको ११ बज्यो । किनकी पहिलो कुरा त्यहाँको भाषा बुझीदैन थियो, दोस्रो कुरा हामीहरु बोलेको काम चलाउ अङ्ग्रेजीको पनि उच्चारण मिल्दैन थियो यस्तै यस्तै समस्याका बावजुत जेनतेन इमिग्रेसनबाट चेकजाँचमा पर्दै निक्लिएपछि लकेज खोज्न थाल्यौ । लकेज आउने ठाउँ पत्ता लगाउन पनि केही समय लाग्यो । किनकी थाइल्याण्डको अन्तराष्ट्रिय विमान स्थल न, हो । हाम्रो २० जनाको ग्रुप मध्ये हर्ताकर्ता र अलि अग्रसर भएर कुराकानी गर्ने टोलीको नेतृत्व गर्ने वर्षात भण्डारी हुनुहुन्थ्यो ।
थाइल्याण्डकाे पर्यटकीय क्षेत्र पटैयासीटी
त्यसपछि हामी त्यहाँबाट करिब १५० किलोमिटर टाढा पर्ने पटैया सीटीको गोल्डेन होटल तर्फ सोझै माइक्रो बस मार्फत अघि बढ्यौ । रातको १ बजे पटैया सीटीमा पुग्यौ । होटेलमा लकेजहरु (सामानहरु) राखेर खानाका लागि बजार तर्फ लाग्यौँ । हामी नेपाली न हौं । हामीलाई त दाल,भात चाहियो । यस्तै होटल खोज्दा खोज्दै बिहानको करिब पौने ३ बज्यो । अँह हामीले खोजेजस्तो खानेकुराको परिकार भएको होटल भेटिएन । अधिकांश पर्यटकहरू पटैयामा नै जाने भएकाले त्यहाँका बजार अक्सर रातभरि खुल्दा रहेछन् । खोजेको चीज नभेटिए पछि भोकाएका र हिँड्दा हिँड्दै थाकेका हामीहरू एउटा पसलमा पुग्यौँ । कसैले बियर मगाए । कसैले फ्राइस राइस मगाएर खाए । कसैले चिसो पेयपदार्थ लिए । खानापछि हामी होटल तर्फ लाग्यौ । नयाँ ठाउँ, नयाँ परिवेश, नयाँ अनुभव । विदेश घुम्ने सपना यस्तै मनमा तैरिरहेका छालहरूसँग आफूभित्र लुकामारी खेल्दाखेल्दै करिब बिहान चार बजेतिर सुतियो । बिउँझिँदा करिब ९ बजी सकेको थियो । नुवाइधुवाइ गरेर नास्ता खाने ठाउँमा पुग्दा १० बजेर ७ मिनेट गएको थियो । नास्ता माग्यौ । होटल वालाले छैन बन्द भयो भन्यो ।
हामीसँगै गएका अन्य जिल्लाका केही साथीहरूले भने खाइसके छन् । ‘नास्ता पनि चौरासी बेञ्जनको रहेछ । धेरै प्रकारको भए त के खाने के नखाने आफै मलमलमा पो परिदो रहेछ ।’ उनीहरूले आपसमा कुरा गर्दै गरेको कानमा ट्वाक्क पर्यो । तर म, सहित वर्षात, प्रेम, चेतमान, विष्णु, नवराज र करण भने चिल्लै । नास्ताको समय थियो बिहान ६ देखि १० बजेसम्म । ७ मिनेट ढिलो पुग्दा हामीहरूलाई नस्ता नै दिएन । बजार गएर केही खाने हो भने हामीलाई साढे १० बजे लिएर घुमाउन लैजाने पिङकी नाम गरेकी गाइड, गाडी लिएर तयारी अवस्थामा बसेकी छन् । खान जाने हो भने घुम्ने काम पनि छुट्ने भयो । जसका कारण हामी त्यो दिन दिनभर भोकै बस्यौ । त्यसपछि हामीले समयको खुबै ख्याल गर्न थाल्यौं ।
एउटा कोठाको गिलास अर्को कोठामा लग्दा ५० रुपैयाँ भाट जरिवाना
थाइल्याण्डको पटैया सिटीको गोल्डेन होटलमा हाम्रो बसाइ २ दिनको थियो । जेठ १४ गते बिहान थाइको समय अनुसार हामीले बिहान ९ बजे कोठा छोड्नुपर्ने थियो । अगुल्टो हानेको कुकुर विजुली देखि तर्सिन्छ भने झै पहिले नै एक पटक फन्दामा परेका हामीहरू १४ गते बिहानै उठी नुवाइधुवाइ गरेर ८ बजे नास्ता पनि लिइसकेका थिऔं । चेक आउट नौ बजे थियो । बैंकक जाने समय साढे नौ बजे थियो । सबै सामान गाडीमा राखेर बस्यौ । पछाडिका साथीहरू आउन ढिला गर्नुभर्यो । गाडीबाट ओर्लिएर जाँदा वर्षात भण्डारी, विष्णु केसी र अर्चना गुरुङ गाडी भए तर्फ आइरहनु भएको थियो । किन ढिला गरेको भने सोध्दा अर्चनाले भन्नुभयो– ‘वर्षात सरले कोठाको गिलास लबीमा ल्याएर छोड्नु भएको रहेछ त्यसको ५० रुपैयाँ भाट जरिवाना गर्यो ।’ यो सुन्दा आश्चर्य लाग्यो ।
एउटा काँचको गिलास न फुटेको छ । न हराएको छ । मात्रै सात तला माथि रहेको गिलास तल लबीमा (ग्राउण्ड फ्लोरमा छोड्दा) राख्दा जरिवाना पर्नुपर्यो । यो त अचम्मको कुरा भयो । होटलको प्रत्येक कोठामा इलेक्ट्रिक जक, २ वटा गिलास, २ वटा कप, चियापत्ती, पाउडर दूध, कफी, मिनरल वाटर, मिनी फ्रिज राखेको हुन्छ । आवश्यकता अनुसार प्रयोग गर्नुपर्ने हुन्छ । यसै क्रममा वर्षात भण्डारीले दिनभरी चर्को घाम त्यसमा पनि समुन्द्रका तटमा घुमेको थकान मेट्न साँझपख बियर खाँदै गर्दा साथीहरूले बाहिरबाट बोलाए ।
त्यही गिलास हातमै लिएरै लिप्टबाट ग्राउन्ड फ्लोरमा ओर्लिनुभयो । बियर खाइसकेर गिलास पनि त्यही राख्नुभयो, उतैबाट फेरि बजार तर्फ लाग्नुभयो । भोलि पल्ट चेकआउट गर्ने क्रममा कोठामा गिलास नभेटिए पछि होटल व्यवस्थापकले जरिवाना गर्यो । जसले गर्दा लापरबाहीपूर्ण हाम्रो कार्य शैली र हाम्रो व्यवहारलाई रूपान्तरण गर्दै हामीलाई जिम्मेवारी बोध बन्न सिकायो । त्यसपछि हाम्रो यात्रा बैंकक तर्फ सुरु हुन्छ । थाइकाे समय अनुसार बैङ्ककमा हामी करिब ४ बजे पुग्छौ । होटलमा सबै सामान राखेर चेतमान र म बजार तर्फ लाग्छौ । भोक पनि लागेको हुन्छ । म फेरि भेज खानामा जोड गर्ने वाला परे । भेज खोज्दा खोज्दै रात पर्छ अँह पाइदैन । जेनतेन एक जना नेपाली काम दार रहेको ठाउँमा दुवैजना पुग्छौ । नेपालमा खाना (भात) किन्दा सबै मिल्छ त्यहाँ त खाना (भात) अलग, दाल अलग, तरकारी अलग किन्नु पर्ने ।
खाएर दुवैजना कोठामा फर्किन्छौ । कोठामा पुगेपछि साथीहरूले साँझपख सपिङका लागी जाउँ भन्दै आग्रह गर्नुहुन्छ । त्यसपछि अर्चना, अस्मि, सविता, चेतमान र म बजार तर्फ लाग्छौ । त्यो ग्रुपमा उमेरले सबैभन्दा सानी भएपनि नेतृत्व गर्न सक्ने ल्याकत राख्ने अस्मि घलेको अंग्रेजी भाषा पनि राम्रो थियो । जसले सपिङ लगायत अन्य ठाउँको अवलोकन गर्दा धेरै सजिलो पनि भयो । २ दिने बसाइ पछि १६ गते होटलबाट हामी १२ बजे चेकआउट हुनुपर्ने थियो । समय भित्रै हामी कोठा छोडेर लबीमा आएर बस्यौ । सपिङ गर्न गएका हाम्रै ग्रुपका साथीहरू साढे १२ बजेसम्म पनि आउनु भएन ।
उता होटल व्यवस्थापकले प्रति घण्टा १ एक सय रुपैयाँ थप चार्ज लाग्ने बताउँछ । अर्को तर्फ सिंगापुर जानका लागि एयरपोर्ट लैजान दुईवटा गाडी सहित गाइड आएर बसेका छन् । सपिङ गर्न गएकालाई फोन गर्ने हो भने नेपालका सिमले काम गर्दैनन् । थाइको सिम पनि प्रयोग गरिएको छैन । अब हामी अलमलमा पर्याै। सँगै गएका साथीहरूलाई छोड्नु पनि भएन । त्यसपछि सविता, अर्चना र अस्मिलाई खोज्न चेतमान बजार तर्फ जानुभयो । उहाँहरु होटलमा आउँदा करिब थाइको १ बज्न ११ मिनेट बाँकी थियो । साथीहरूलाई किन ढिला गरेको भनेर मैले पनि गाली गरे । एक घण्टा नपुगेकाले कोठाको जरिवाना लागेन । होटलमा बस्नु भन्दा पहिला धरौटी राख्नु पर्ने नियम अनुसार वर्षात भण्डारीले २० जना ग्रुपको ३ सय डलर राखेको पैसा होटलबाट फिर्ता भयो । त्यसपछि हामी सिंगापुरका लागि एयरपोर्ट तर्फ लाग्यौ कमश …..