तुलसीपुर १ जेठ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ मुलकोटमा पर्यटन प्रवद्र्धनका लागि एकदिने महोत्सवको आयोजना गरिएको छ । चमेरे गुफाका वारेमा प्रचार प्रसार गरेर पर्यटकहरु भित्र्याउनका लागि आयोजना गरिएको महोत्सवको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले गरेका हुन् । महोत्सवको उद्घाटन गर्दै प्रमुख पाण्डेले मुलकोटलाई मुस्कानकोट वनाउनका लागि सबै
लागिपर्नुपर्ने वताए । उनले उपमहानगरपालिकाले चमेर गुफालाई लक्षित गरेर बाटो निर्माण गरेको वताउँदै आगामी वर्ष चमेरे गुफासम्म कालोपत्रे गर्नका लागि उपमहानगरपालिकाले वजेट विनियोजन गर्ने समेत वताए । मुलकोटमा पर्यटनको असिम सम्भावना रहेको भन्दै नगरप्रमुख पाण्डेले भने ‘तपाईहरुले यो ठाउँलाई यस्तो वनाउनुहोस् कि यहाँ आएर मान्छेले आफ्नो दुःख पिडा भुल्न सकुन्’
तुलसीपुर उपमहानगरपालिकालाई पर्यटनको केन्द्र वनाउनका लागि आगामी वर्षबाट भिजिट तुलसीपुर एप्लिकेसन वनाउने वताउँदै पाण्डेले तुलसीपुर घुम्न जाउँ भन्ने नारालाई सार्थकता दिनका लागि सबैले भुमिका खेल्नु आवश्यक भएको समेत उनले वताए । तुलसीपुरको राम्री, धामा, वल्ले र मुलकोटमा होमस्टे सञ्चालनका लागि उपमहानगरपालिकाले यसै वर्षबाट तयारी आरम्भ गरेको समेत उनले वताए ।
वडाध्यक्ष वालकृष्ण रानाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै वडा नम्वर ५ का वडाध्यक्ष विरेन्द्र शाहले मुलकोट पर्यटकीय स्थलका रुपमा वलियो सम्भावना भएको भन्दै यसको विकास र विस्तारका लागि आफुले विशेष भुमिका वहन गर्ने वताएका थिए । तुलसीपुर खानेपानी तथा सरसफाइ सस्थाका अध्यक्ष खेमराज वलीले खानेपानीको मुहान संरक्षणमा सवैले ध्यान दिनुपर्ने वताउँदै मुलकोटलाई कृषिको हवका रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिए । तुलसीपुर उपमहानगर कार्यपालिकाका सदस्य देवराज विकले मुलकोटले कोटको सभ्यतालाई जोगाएको वताउँदै यसको संरक्षण र संवद्र्धनमा सबैले ध्यान दिनुपर्ने वताए । कार्यक्रममा जिल्ला वन महासंघका सदस्य तारा देवकोटा, कपुरकोट गाउँपालिकाका प्रतिनिधि मधुसुदन गिरी,चमेरे गुफा व्यवस्थापन समितिका अध्यक्ष भुपवहादुर पुन, मुलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुन लगायतले मन्तव्य राखेका थिए ।