कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पा,३१ जेठ । पाल्पाको तिनाउ गाउँपालिका नुवाकोटबाट बुटवल फर्कंदै गरेको कार हिजो बेलुकी नुवाकोटबाट जीतगढी झर्ने ओरालोमा पल्टिँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । दुर्घटनामा स्याङ्जा पुतलीबजार घर भई बुटवल–१० बस्दै आएका चालक ५६ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा–३ की ५७ वर्षीया आशा श्रेष्ठ र ५० वर्षीया भगवती श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु २ च ८५३१ नम्बरको कार हिजो राति साढे ८ बजेतिर अनियन्त्रित भई सडकबाट खसेको हो । दुर्घटनामा घाइते भएका बुटवल मिलनचोककी चन्दा श्रेष्ठको भैरहवा मेडिकल कलेज, भैरहवा र बुटवल ११ होराइजन चोककी लक्ष्मिता श्रेष्ठको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । घाइते दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया