तुलसीपुरमा सुत्केरी प्रोत्साहन भत्ता रोकिदा आवेदन दिएका नगरबासीले पाए वेकारमा दुःख

तुलसीपुर, २९ जेठ । दाङको तुलसीपुर उपमहानगरपालिकाले संचालन गरेको सुत्केरी प्रोत्साहन भत्ता चालु आर्थिक वर्षमा रोकिएको छ । विगतका वर्षहरुमा दिइदै आएको सुत्केरी प्रोत्साहन भत्ता रोकिएको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाले जनाएको छ । चालु आर्थिक वर्ष २०८०/०८१ को ९ महिनामा (साउनदेखि चैतसम्म) सुत्केरी भएका १ हजार ७ सय जनाले फाराम भरे पनि सुत्केरी प्रोत्साहन बापतको रकम पाउन सकेका छैनन् । गत चैतसम्म सुत्केरी भएका नगरवासीहरुको फाराम संकलन गरिरहेको वडाका स्वास्थ्य संस्थाहरुले अहिले भने फाराम नै संकलन गर्न छोडेका छन् । चालु आर्थिक वर्ष सकिनै लाग्दा समेत उपमहानगरपालिकाबाट रकम निकासा नभएपछि फाराम संकलन समेत रोकिएको हो । सुत्केरी भत्ताका लागि फाराम भरेका र पैसा आउँछ कि भन्ने आसमा बसेका सुत्केरी भएका नगरबासीहरु महिनौ बित्दा पनि रकम नआएर रोकिएको छ भन्ने खबर आउँदा भने आफूहरुले फोकटमा दुःख पाएको गुणासो गरेका छन् । श्रीमती सुत्केरी भएपछि भक्ताका लागि आवेदन दिएको ७ महिनापछि आफूलाई भत्ता नै रोकिएको छ भनेर खबर आएको तुलसीपुर १० का लाल बहादुर चौधरीले बताउनु भयो । ‘ स्वास्थ्य चौकीका कर्मचारीले प्रोत्साहन रकम आएपछि फोन गरौँला भनैको ७ महिना पछि फोन आयो तर भत्ता रोकिएको छ भनेर’ उहाँले भन्नुभयो ं‘यदि पहिले नै उपमहानगरपालिकाले सुत्केरी भत्ताको रकम पाइदैन भनेको भए आवेदन दिदैनथे ।’ आवेदनका लागि स्वास्थ्य चौकीसम्म जान आउन, कागजपत्र फोटोकपी लगायतका काम गर्दा १२/१५ सय रुपैयाँ त्यत्तिकै खर्च मात्रै भएको चौधरीले बताउनु भयो । सुत्केरी प्रोत्साहन भत्ताको रकम रोकिएको छ भनेर सार्वजनिक सुचना जारी नगरिदिदा नगरबासीहरुले दुःख त पाए नै यो सँगै बेकारमा समयको दुरुपयोग र पैसाको खर्च पनि भएको उहाँको भनाइ छ ।
किन बन्द भयो सुत्केरी भत्ता ?
यता तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका स्वास्थ्य निरिक्षक विमल केसीले पहिले सबैजनालाई वितरण गर्दै आएको सुत्केरी प्रोत्साहन भत्ताको रकम दुरुपयोग भयो कि भन्ने महसुश भएर कार्यविधि पमिार्जन गरेर लैजाने योजनामा रहेकाले रोकिएको बताउनु भयो । विपन्न तथा लक्षित वर्गलाई मात्रै दिने योजना बनाइरहेको उहाँको भनाइ छ । त्यसका लागि गरिब परिचयपत्र हुन पर्ने भएकाले सरकारले परिचय पत्र बाँडेपछि यो रकम दिइनेछ । चालु आर्थिक वर्ष वित्नै लाग्दा पनि यो विषयले पूर्णता पाउन सकेको छैन । तुलसीपुर उपमहानगरपालिकाका सुचना अधिकारी बाबुराम न्यौपालेने पनि सबैलाई दिदा आर्थिक व्ययभार पनि बढ्ने र सदुपयोग भएन की भन्ने मशसुस गरेर लक्षित वर्गलाई मात्रै दिने गरी अघि बढिरहेको बताउनु भयो ।
चालु आर्थिक वर्षको बजेट बक्तव्यमा के छ ?
नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गत यातायात खर्चसहित २८ सय रुपैयाँ हाल अहिले दिने गरेको छ । यसमा प्रोटोकल अनुसार प्रक्रिया पु¥याएकालाई २२ सय रुपैयाँ थप गरेर तुलसीपुर उपमहानगरपालिकाले दिदैँ आएको थियो । २०७५ सालदेखि सुत्केरी प्रोस्ताहन भत्ता तत्कालीन मेयर घनश्याम पाण्डेको पालामा सुरु भएको थियो । तुलसीपुर उपमहानगरपालिकाको चालु आर्थिक वर्षको बजेट बक्तव्यको सामाजिक विकास शिर्षकमा स्वास्थ्य तथा पोषण अन्र्तगत ४३ नंबर बुँदामा मातृमृत्युदर, नवजात शिशुमृत्युदर घटाउन सुत्केरी प्रोत्साहन भत्ताका लागि आवश्यक बजेट विनियोजन गरिएको छ , भनेर उल्लेख गरिएको छ । तर बजेटको रकम कति हो भन्ने भने खुलाइएको छैन । उपमहानगरपालिकाको निति कार्यक्रम र बजेटमा समेटिएका विषयमा पनि नगरबासीहरुले उपमहानगरपालिकाको आर्थिक व्ययभार बढ्यो भनेर सेवा सुविधा पाउन सकिरहेका छैनन् । ।

प्रकाशित मिति : २०८१ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया