
तुलसीपुर, २८ जेठ । दाङको दंगीशरण गाउँपालिका–१ को फुर्केसल्लीस्थित चिउरेपानि गाउँमा पहिलो पटक विद्युत पुगेको छ । वडाअध्यक्ष रमेश भण्डारीको सक्रियतामा लामो समयदेखी विद्युत सेवा नपुगेको चिउरेपानिमा विजुली बत्ति सुचारु भएको हो । गत बैशाखमा मात्रै वडाअध्यक्ष भण्डारीसहित पालिका अध्यक्ष र विद्युत प्राधिकरण तुलसीपुरका प्रमुखसहितको टोलीले स्थलगत रुपमा अवलोकन गर्दै जेठ महिना भित्रै चिउरेपानिमा विजुली बत्ति बाल्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार जेठ २७ गते आइतबार चिउरेपानिमा धुमधामका साथ वत्ति बालेर विद्युत उद्घाटन गरिएको छ । दुर्गम भेगका रुपमा चिनिने फुर्केसल्लीका अधिकांस गाउँमा अहिले बत्ति पुगिसकेको छ । तर, कालितरा र चिउरेपानीमा भने विद्युत पुग्न बाकी रहेको थियो ।
अब चिउरेपानिमा पनि विजुली बलेसँगै कालितराबाहेक फुर्केसल्लीका सबै ठाउँमा विजुली पुगीसकेको छ । अब कालितरामा पनि अर्को बर्षसम्म विद्युत सुचारु गरिने वडाअध्यक्ष भण्डारीले बताउनुभयो । यसअघि विद्युत सेवा नहुदा सोलार र टुक्कीको भरमा रात कटाउन बाध्य भएका चिउरेपानिका स्थानियहरु अहिले खुसी भएका छन् । सामान्य मोबाइल चार्ज गर्नका लागी समेत अर्को गाउँमा पुग्नुपर्ने त्यहाँका स्थानियको बाध्यता अब अन्त्य भएको छ । आफुहरुको लामो समयदेखीको विद्युत बाल्ने सपना पुरा गरिदिएको भन्दै चिउरेपानिका स्थानियले वडाअध्यक्षलगाएत सम्पुर्ण टिमलाई धन्यबाद व्यक्त गरेका छन् ।।