
काठमाण्डौ, २६ जेठ । नारायणघाट–बुटवल सडकको अवस्था अत्यन्तै खराब हुँदा विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक घट्न थालेका छन् । कोरोना महामारी कम भएपछि अरू सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण वार्षिक छ लाख जना पर्यटकमात्र पुग्ने गरेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिनुभयो ।
आफू संसदीय समितिको बैठकमा भाग लिन कार्यालयकै गाडीमा काठमाण्डौ पुग्दा पनि १३ घण्टा समय लागेको उल्लेख गर्दै उहाँले धार्मिक पर्यटक वृद्धि गर्न ती ठाउँमा जाने सडक पनि सुधार गर्नुपर्नेमा जोड दिनुभयो । लुम्बिनी क्षेत्रमा पूर्वाधार निर्माण गरेपनि नारायणघाट–बुटवल सडकका कारण पर्यटकले सास्ती खेप्नुपरेको छ । सडकको काम चाँडो सकिए लुम्बिनीलगायत पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवम् बाह्य पर्यटकको सङ्ख्या बढ्ने बताइएको छ ।।