तुलसीपुर, २५ जेठ । दाङको तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । तुलसीपुर–६ सुकौरा रोडस्थित ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ वर्षीय टिका बुढाथोकीलाई आज बिहान सँवा ८ बजेको समयमा खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकास थापाले जानकारी दिनुभयो ।
नेपाल आर्मीमा कार्यरत बुढाथोकीले सान्तिसेनाबाट आउदा श्रीमती अर्कैसँग लागेको थाहा पाएपछि खुकुरी प्रहार गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । प्रहरीका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी टिकाको उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा अहिले सँवा ९ बजेको समयमा मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।