आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक

काठमाण्डौ, १५ जेठ ।  सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गर्नुभएको हो । यो चालु आर्थिक वर्षको तुलनामा ६ दशमलब २ प्रतिशतले धेरै हो । यो तोकिएको बजेट सिलिङभन्दा २१ दशमलब ५६ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो । प्रस्तुत बजेटमा चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुला बजेटको ६१ दशमलब ३१ प्रतिशत खर्च तोकिएको छ ।

यस्तै पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ५२ करोड अर्थात १८ दशमलब ९४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब रहेको उल्लेख रहेको छ । बजेटमा सरकार प्रमुख पाँच प्राथमिकता तय गरेको छ । बजेटका पाँच प्राथमिकतामा आर्थिक सुधार निजी क्षेत्रको प्रवद्र्धन, कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास र पूर्वाधार निर्माण रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास पनि बजेटको प्राथमिकतामा परेको छ । त्यसैगरी समावेशीता र सामाजिक सुरक्षा र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्नु बजेटको प्राथमिकता रहेको अर्थमन्त्री पुनले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया