भारतीय प्रधानमन्त्री मोदी जनकपुर आइपुगे

दाङ, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आइपुगेका छन् । मोदी प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको २ दिने राजकीय भ्रमणका लागि जनकपुर आइपुगेका हुन् । भारतीय वायु सेनाको हेलिकोप्टरबाट जनकपुर विमानस्थलमा उत्रिएका मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायतले स्वागत गरेका थिए ।

मोदीले अहिले केहीबेरमा जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्दैछ । नागरिक अभिनन्दनपछि मोदी आजै दिउँसो १ बजे काठमाडौं आउने तय भएको छ । मोदीलाई बस्ने व्यवस्था चुच्चेपाटीस्थित होटल हायातमा मिलाइएको छ । होटलमा केहीबेर आराम गरेपछि मोदी सैनिक मञ्च टुँडिखेल जाने र त्यहाँ नेपाली सेनाले सम्मानगारत अर्पण गर्ने कार्यक्रम छ । आजै मोदीले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरस्थित जानकी मन्दिर पुगेका छन् । संघीय प्रहरी कार्यालय हेलिकोप्टर अवतरण गरेर मन्दिर पुगेका ओलीलाई महन्थले माला लगाएर स्वागत गरेका छन् । जानकी मन्दिरमा पुग्दा प्रधानमन्त्री ओली नयाँ ‘गेट अप’मा देखिएका छन् । भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दन समारोहमा सहभागी हुनेहरुको घुइँचो अत्यधिक भएपछि प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको छ । स्थानीय सरकारले एक लाख मानिसलाई मोदीको अभिनन्दन समारोहमा उतार्ने घोषणा गरे पनि बिहानैदेखिको भिड हेर्दा त्योभन्दा पनि धेरै पुग्ने अनुमान गरीएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया