आज भारतीय प्रधानमन्त्री मोदी जनकपुर आउँदै, प्रदेश २ मा सार्वजनिक विदा

धनुषा, वैशाख २८ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमणका लागि आज जनकपुर आउँदै हुनुहुन्छ ।   दुई दिने नेपाल भ्रमणका लागि मोदी भारतीय सेनाको हेलिकप्टरबाट बिहान सवा १० बजे जनकपुर आउने कार्यक्रम छ । जनकपुरमा उहाँले जानकी मन्दिरमा विशेष पूजा गर्नुहुनेछ । त्यसपछि ऐतिहासिक रंगभूमि मैदान बाह्रविघामा उहाँको अभिनन्दन एवं सम्बोधनको कार्यक्रम रहेको छ ।

विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलगायत प्रदेशका मन्त्रीहरुले मोदीको स्वागत गर्नेछन् । मोदीले जानकी मन्दिरको पूजा गर्ने बेला एक सय एक साधुले एकैपटक शंखनाद गर्नेछन् । मोदीले झण्डै ४५ मिनेट जानकी मन्दिरमा बिताउनुहुनेछ ।

जनकपुरमा नै मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने र दुवै प्रधानमन्त्रीको भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसैक्रममा दुवै प्रधानमन्त्रीले रामायण सर्किटको संयुक्त रुपमा उद्घाटन गर्नुहुनेछ । रामायणकालीन स्थल जोड्ने रामायण सर्किटको जनकपुरबाट अयोध्या चल्ने बससेवालाई हरियो झण्डा देखाएर दुवै समकक्षीले उदघाटन गर्नुहुने छ ।

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर चुरोट कारखानामा ओर्लेर मोदीलाई स्वागत गर्नु हुनेछ । बाह्रविघा मैदानमा आयोजना गरिएको ‘नागरिक अभिनन्दन’ समारोहमा मोदीलाई जनकपुर उपमहानगरपलिकाका मेयर लालकिशोर साहले अभिनन्दन गर्नु हुनेछ । नेपाली भाषामा तयार अभिनन्दन पत्र मेयर साहले मैथिली भाषामा पढेर मैथिली भाषामा अभिनन्दन गर्ने जनकपुर उपमहानगरपालिकाको तयारी छ । स्वागत एवं अभिनन्दन समारोहमा मोदीलाई १ सय २१ किलोको फुलको माला पनि पहिराएर स्वागत गर्ने योजना छ ।

नागरिक अभिनन्दन पश्चात मोदीले समारोहलाई सम्बोधन गर्नु हुनेछ । त्यसपछि उहाँ काठमाडौं जानुहनेछ ।  मोदीलाई भव्य स्वागत तथा अभिनन्दन गर्न जनकपुर उपमहानगरपालिकाले जानकी मन्दिरदेखि बाह्रविघा मैदान र जनकपुर विमानस्थलसम्मको बाटोलाई सजाएको छ । प्रदेश नम्बर २ सरकारले मोदीको आगमनलाई उत्सवको रुपमा मनाउन सार्वजनिक विदा दिएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया