मोदी आउँदा जनकपुरमा मास्क लगाउन प्रतिबन्ध

तुलसीपुर,२७ बैशाख ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएका बेला जनकपुरमा मास्क लगाएर हिँड्न निषेध गरिएको छ । जिल्ला प्रहरी कार्यालयले जानकी मन्दिर, बाह्रविघा मैदानको १०० मिटर क्षेत्र र जनकपुर विमानस्थलदेखि बाह्र विघा मैदानको सडक छेउछाउमा धारिलो वस्तु, हेलमेट, झोला, पोका र मास्क लगाएर हिँड्न निषेध गरेको हो । मोदीको भ्रमण कार्यक्रमलाई दृष्टिगत गरी वैशाख २८ गते बिहान १० बजेदेखि हेलमेट, झोला, पोका र मास्क लगाउन प्रतिबन्ध गरिएको प्रहरीले सूचना निकालेर जानकारी दिएको छ ।

मोदीको नागरिक अभिनन्दन हुने ठाउँ बाह्रविघा मैदानमा पनि हेलमेट र मास्क लगाएर नजान आग्रह गरिएको छ । दुई दिने नेपाल भ्रमणका लागि भारतीय प्रधानमन्त्री मोदी भोलि जनकपुर आउँदैहुनुहुन्छ । उहाँले जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम छ भने जनकपुर उपमहानगरपालिकाले मोदीको सम्मानमा बाह्रविघा मैदानमा नागरिक अभिनन्दन कार्यक्रम राखेको छ ।

मोदी भ्रमणको सुरक्षालाई मध्यनजर गरी आज दिउँसो १२ बजेदेखि नै जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ । मोदी आउने दिन पारेर प्रदेश २ सरकारले प्रदेशभरी सार्वजनिक विदासमेत दिएको छ ।

 

प्रकाशित मिति : २०७५ बैशाख २७ गते बिहिवार
प्रतिक्रिया