तुलसीपुर, ५ जेठ । नेकपा एमाले दाङको चौधौं अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । भोलि र पर्सि दाङको घोराहीमा हुने जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले दाङ जिल्ला कमिटीका अध्यक्ष हुकुम बहादुर बस्नेतले जानकारी दिनुभयो । दुई दिनसम्म चल्ने अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अधिवेशनमा जिल्ला भरबाट ७ सय ८८ जना प्रतिनिधि छनौट भएका छन् । अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्ने कार्यक्रम रहेको छ । यस अघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेकाे थियाे ।
एमाले अध्यक्ष केपी ओली नआउने
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाङ नआउने हुनुभएको छ । केन्द्रमा देखिएको समसामयिक राजनीतिक घटनाक्रमका कारण अन्तिम समयमा आएर दाङ आउने कार्यक्रम रद्द गरिएको नेकपा एमालेकी केन्द्रिय सदस्य कोमल वलीले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्प कमल दहाल प्रचण्डले पर्सि विश्वासको मत लिने कार्यक्रम रहेकाले मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल गर्नुपर्ने भएकाले प्रधानमन्त्रीकै आग्रहमा दाङ आउने कार्यक्रम रोकिएको केन्द्रिय सदस्य वलीले बताउनुभयो । अध्यक्ष ओली जिल्ला अधिवेशनको उद्घाटन गर्न आज नेपालगञ्ज हुँदै तुलसीपुर आएर कोमल ओली रिसोर्टमा बस्ने कार्य तालिका रहेको थियो ।
शंकर पोखरेलसँग पत्रकार भेटघाट
प्रेस चौतारी दाङले नेकपा एमाले दाङका महासचिव शंकर पोखरेलसँग पत्रकार सम्मेलन गर्ने भएको छ । भोलि बिहान ८ बजे तुलसीपुरको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्ने तयारी गरिएको प्रेस चौतारी दाङका कोषाध्यक्ष गोकर्ण पौडेलले जानकारी दिनुभयो ।।