सल्यान-रुकुम यातायात समिति प्रालीमा दर्ता हुदै

मिना बुढाथोकी, सल्यान वैशाख २५ ।
सिन्डिकेटको पुर्ण रुपमा अन्त्यका लागी सरकारले चालेको कदममा आफुहरु बाधक नभएको सल्यान रुकुम यातायात व्यवसायी समितिले दावी गरेको छ । आज मंगलबार सल्यानको वागचौरमा पत्रकार सम्मेलनको आयोजना गरि समितिका अध्यक्ष लोकमान बुढाथोकीले सरकारले चालेका हरेक कानुन सम्मत कामलाई सम्मान गर्न आफुहरुको दायित्व रहेको बताए ।

सल्यान रुकुम यातायातले कहिल्यै सिन्डिकेटको समर्थन गरेन उनले भने अहिले चालेको सरकारको कदममा आफुहरुको पुर्ण समर्थन छ । जनतालाई सजिलोको लागी आलोपालो गरेको दावी गर्दै उनले अहिलैकै अवस्थामा सवै गाडि एकैसाथ चलाउदा दुर्घटना ह्वात्तै बढ्ने बताए । उनले सरकारले सिन्डीकेट अन्त्यको थालेको अभियान विचेमा छाडेमा ठुलो दुर्घटना हुने बताए ।

गृहमन्त्री ज्युले सिन्डीकेट अन्त्यको प्लेन चलाइ सक्नुभयो उनले भने प्लेन सहि ठाउमा पु¥याउनुहुन्छ की विचैमा दुर्घटना गराउनुहुन्छ त्यो हेर्न वाँकी छ । विभिन्न सामाजिक काममा समेत सकृय रहेको सल्यान रुकुम यातायात व्यवसायी समितिले तिनदिन अघि समितिको नाम भएका साइनवोर्ड, डे«स, परिचयपत्र नलगाउने निर्णय गरेको थियो भने टिकट काट्न समेत बन्द गरेको थियो ।

आफुहरु समिति भंग गरी प्रालिमा दर्ता गर्ने तयारी रहेको समेत उनले बताए । हामी राज्यका सवै नियमहरुलाई अक्षरस पालना गर्न तयार छौँ उनले भने तर अहिले सम्म प्रालिले तिर्ने करको विषयमा स्पष्ट कार्यविधि बनेको छैन । सरकारले पनि तत्काल विधि र प्रकृया स्पष्ट पार्नुे उनले बताए । उनले यातायातमा सिन्डकेट हटाए जस्तै अन्य क्षेत्रमा भएका सिन्डिकेटको पनि अन्त्य गर्नु पर्ने माग गरे ।

उनले सबै भन्दा पहिला राजनितिमा भएको सिन्डिकेटको अन्त्य हुनु पर्नेमा जोड दिए । सरकारले यातायातमा रहेको सिन्डिकेट त हटायो तर अब राजनितिमा रहेको सिन्डिकेट पनि हटाओस उनले भने –‘साथै यातायात व्यवसायी जस्तै नियमावलीमा दर्ता भएर काम गरि रहेका अन्य एनजिओ तथा आईएनजिओमा रहेको सिन्डिकेटको अन्त्य गर्न म सरकारलाई चुनौती दिन्छु ।’

पत्रकार सम्मेलन मा बोल्दै यातायात व्यवसायी समितिका अध्यक्ष बुढाथोकीले अहिले पार्टी भित्र महासिन्डिकेट रहेको भन्दै त्यो सिन्डिकेट तोड्न एकदमै जरुरी रहेको बताए । उनले अहिले प्रधानमन्त्री केपी शर्मा वली र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहालले समेत आलोपालो गरि प्रधानमन्त्री हुने कुरामा जनातालाई अलमल्याई रहेको भन्दै देशको प्रधानमन्त्री र पार्टीको अध्यक्ष हुंदा आलोपालो प्रणली हुने अनि व्यवसायीले पनि त्यही आलोपालो गर्दा त्यो अपराध कसरी भयो ? भनेर प्रतिप्रश्न समेत गरे ।

उनले विगतमा केही कमी कमजोरी यातायात व्यवसायीबाट पनि भएको स्वीकार गर्दै आगामी दिनमा स्पष्ट धारणाका साथ पारदर्शी भएर जिल्लाको समितिले काम गर्ने बताए । भुकम्पको वेला साढे २ लाख रकम संकलन गरेको समितिले जिल्लाको धार्मिक, पर्यटकिय तथा विभिन्न सामाजिक क्षेत्रमा समाजिक काम गर्दै आएको छ ।

प्रकाशित मिति : २०७५ बैशाख २५ गते मङ्गलवार
प्रतिक्रिया