तुलसीपुर,२३ बैशाख ।
संघिय संसदको दोस्रो अधिवेशन आजबाट सुरु हुने भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै पटब बसेर अधिवेसन सुरु हुनेछ । दिउँसो ४ बजे बैठक बोलाइएको बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बैठक बस्ने गरी अधिवेशन आह्वान गर्नुभएको हो ।
पहिलो अधिवेशन सकिएको करिब एक महिनापछि सङ्घीय संसद्को दोस्रो अधिवेशन सुरु हुन लागेको हो । आज दुवै संसद् बैठकमा संघीय संसद्को अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सुनाउने र अधिवेशनअघि जारी भएका चारवटा अध्यादेश प्रस्तुत हुने कार्यसूची छ । बैठकमा आ–आफ्नो सभासँग सम्बन्धित नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ ।
सांसदहरू फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि निलम्बन नहुने व्यवस्थासहितको नियमावली पनि आज बस्ने संसद् बैठकमा पेस हुँदै छ । दुवै सदनले पारित गरेपछि नियमावली कार्यान्वयनमा आउनेछ ।
वैशाख २६ देखि २८ गतेसम्म प्रि–बजेट विनियोजन विधेयकमा छलफल र जेठको पहिलो हप्ता राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रारम्भिक कार्यसूची संसद् सचिवालयले तय गरेको छ । जेठ १५ गते संसद्मा बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।