तुलसीपुर, २१ बैशाख ।
गृहमन्त्री रामबहादुर ‘बादल’ले यातायात सेवा अवरुद्ध गर्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै उनले आवश्यक सेवा सञ्चालन ऐन( २०१४ अनुरुप कारवाही गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री बादलको निर्देशन पछि व्यवसायीका नेताहरुलाई पक्राउ सुरु गरीएको छ । प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । भृकुटीमण्डपको एक कार्यक्रममा जाने क्रममा उनलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो ।
यस्तै बुटवलमा पश्चिम नेपाल बस ब्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ परेका छन् । यातायात क्षेत्रमा हड्ताल गरेर कानून उल्लंघन गरेको अभियोगमा संघका उपाध्यक्ष जीवन बन्जाडे र महासचिव पदम गाहा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता ईलाका प्रहरी कार्यालय तुलसीपुरले एक व्यवसायी नेतालाई नियन्त्रणमा लिएको छ । अन्य व्यवसायी समितिका पदाधिकारी भने सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सरकारले यातायात व्यवसायी समितिलाई प्रालीमा आउन आग्रह गदै असार मसान्तदेखी कुनै पनि समिति नविकरण नगर्ने निर्णय गरेपछि यातायात व्यवसायी समितिहरु आन्दोलित छन् ।