तुलसीपुर उपमहानगरपालिकाको सार्बजनिक शौचालयमा ताला !

तुलसीपुर १९ बैशाख

सम्बन्धित निकायको लापर्वाहीका कारण तुलसीपुरमा रहेको सार्बजनिक शौचालय महीनौ दिन देखि प्रयोग विहिन भएको छ ।
द पार्क क्याफेका प्रोप्राईटर राधा खड्काका श्रीमान तोर्णबहादुर बहादुर खड्का (राजन) ले उपमहानगरपालिकासंग सम्झौता गर्दा पार्क भित्र क्यान्टीन संचालन गर्ने देखि हाल बन्द अवस्थामा रहेको सार्वजनिक शौचलय संचालन गर्ने सहमति गरेका थिए ।  तर सहमतिको उलंघन हुदा समेत तुलसीपुर उपमहानगरपालिका बेखबर जस्तै बनेको छ । शौंच गर्न जाने सर्बसाधारण नागरिकहरु महिला र पुरुष लेखेको शौचलयको ढोकामा ताला झण्ड्याएको देखेपछि फर्किने गरेका छन् ।

क्याफेका संचालकले त्यही शौचालय पछाडीबाट एकतर्फी रुपमा मात्रै प्रयोग गर्दै आएका छन् । शौचालय बाहिर (सडक तर्फ) र भित्र गरेर चार कोठाको छ ।  शौचालय प्रयोग गरेवापत दिसा गरेको १० र पिसाब गरेको ५ रुपैयाँ शुल्क लिने गरिएको थियो । क्याफे संचालक खड्काले एक महिना देखि वन्द रहेको जनाएपनि आसपासका व्यापारीहरुले शौचालय बन्द भएको महिनौ दिन भएको बताएका छन् । यता तुलसीपुर उपमहानगरपालिका – ५ नम्बर वडा अध्यक्ष विरेन्द्र शाहले एक जनाले मात्रै सेवा लिए पनि शौचालय खुल्ला गर्नु पर्ने बताएका छन् ।
मुनाफा मात्रै भन्दा पनि सेवाको दृष्टिकोणले हेर्नु पर्ने भन्दै शौचालयलाई सधै संचालनमा ल्याउनु पर्ने बताए ।  तुलसीपुर उपमहानगरपालिकाले गत बर्ष सर्बसाधारणका प्रयोगका लागि भन्दै ७ लाख लागतमा शौचालय निर्माण गरेको थियो ।
उता तुलसीपुर उपमहानगरपालिकाले भने भोली (बिहिबार) देखि शौचालय संचालनमा आउने बताएको छ ।  ‘मैले यसका बारेमा जानकारी पाएलगत्तै क्याफे संचालकलाई बोलाएर (भोली) बिहिबार देखि संचालन गर्न भनेको छु ,’ तुलसीपुर उपमहानगरपालिका प्रशासकीय अधिकृत टोपेन्द्र केसीले भने, संचालनमा आउछ ढुक्क हुनुहोस ।’
नगरपालिकाले पार्क क्याफे विच गत बैशाखमा बार्षिक ३ लाख ६५ हजारका दरले पाँच बर्ष सम्म पार्कमा क्याफे संचालन देखि सार्बजनिक शौचलय संचालन गर्ने सहमति भएको तोर्णबहादुर खड्काले जनाएका छन् ।

 

प्रकाशित मिति : २०७५ बैशाख १९ गते बुधवार
प्रतिक्रिया