तुलसीपुर, वैशाख १८ ।
तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले १ सय २९ औ विश्व मजदुर दिवसका अवसरमा सबै मजदुरहरुको श्रम अधिकारको सुनिश्चितता होस् शुभकामना दिएका छन् । आठघन्टा काम,आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको विश्वव्यापी मान्यतालाई सबैले पालना गर्नुपर्ने कुरामा समेत उनले जोड दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिका भित्रका हरेक मजदुरको पेशागत सुरक्षा र न्यायपूर्ण ज्यालाका लागि आफु प्रतिवद्ध रहेको समेत उनले उल्लेख गरेका छन् । “आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण श्रमजीविहरुलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास मलाई लागेको छ” मेयर पाण्डेले उल्लेख गरेका छन् ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिदैजाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुनुपर्ने कुरामा उनले जोड दिएका छन् ।
लोकतान्त्रिक व्यवस्थामा सबै अटाउने, सबैको अधिकार सुनिश्चित हुने भएकाले सबै नेपाली श्रमिकहरुले स्वदेश तथा विदेशमा श्रम गर्दा र पसिना बगाउँदा अनुकूल श्रम वातावरण, न्यायोचित कार्यघण्टा एवं पारिश्रमिक, सामाजिक सुरक्षा लगायतका सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने पाण्डेले काम गना गरेका छन् ।
“आजको यस दिवसको पुनित अवसरमा सबै नेपाली श्रमिक तथा मजदुरहरुले आफ्नो हक–अधिकारको पूर्ण, जीवनोपयोगी र सार्थक रुपमा प्रयोग गर्न सकुन् भन्ने शुभकामना व्यक्त गर्दछु ” विज्ञप्तीमा उल्लेख गरेका छन् ।