सुस्मितालाई पढाउने जिम्मा पौडेलले लिईन !

दाङ बैशाख १४ । कमजोर आर्थिक अवस्थाका कारण विद्यालय जानबाट वञ्चित भएकी बालिका सुस्मिता चौधरी विद्यालय भर्ना भएकी छिन् । प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले अभिभाकत्व ग्रहण गरेपछि ७ वर्षिया बालिका सुस्मिता विद्यालय भर्ना भएकी हुन् ।  सानैमा बुबा गुमाउँदा आर्थिक कमजोर भएर विद्यालय जानबाट बञ्चित सुस्मितालाई प्रतिनिधि सभा सदस्य पौडेलले महेन्द्र माध्यमिक विद्यालय धर्नाको कक्षा १ मा भर्ना गर्दै पठन पाठनको जिम्मा लिनुभएको छ ।

विद्यालयको अंग्रेजी माध्यमतर्फ कक्षा १ मा भर्ना गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले सुस्मिताको अध्ययन सहयोगलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।  आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नपाएको खबर सुनेर आफूले सुस्मिताको अभिभाकत्व ग्रहण गरेको प्रतिनिधि सभा सदस्य पौडेलले बताउनुभयो । ‘मैले यस पूर्व पनि एकल महिला भत्ताबाट प्राप्त रकमबाट बालबालिकाको अध्ययनमा सहयोग पु¥याउँदै आएकी थिएँ । सोही क्रमको निरन्तरता स्वरुप यस वर्षदेखि सुस्मिताको अभिभाकत्व ग्रहण गरेकी छु’, पौडेलले भन्नुभयो, ‘मेरो सहयोगले सुस्मिताको भविष्य निर्माण हुनेछ भन्ने अपेक्षा लिएकी छु ।’

शिक्षा मानिसका लागि अपरिहार्य भएको भन्दै प्रतिनिधि सभा सदस्य पौडेलले हरेक बालबालिकाहरुलाई विद्यालय आउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । सुस्मिताको अभिभाकत्व ग्रहण गर्दै प्रतिनिधि सभा सदस्य पौडेलले विद्यालय पोशाक, कापी, कलमलगायतका शैक्षिक सामग्री प्रदान गर्नुभएको थियो ।  छोरीको अभिभाकत्व ग्रहण गरिदिएकोमा प्रतिनिधि सभा सदस्य पौडेलप्रति खुसी व्यक्त गर्दै सुस्मिताकी आमा सविता चौधरीले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर हुँदा छोरीलाई विद्यालय पठाउन सकेकी थिइन । सांसदले छोरीको पढाई खर्च बेहोर्ने भन्नुभएको छ । यो सुनेर खुसी लागेको छ ।’ बैदेशीक रोजगारको शिलशिलामा भारतमा हुँदा श्रीमान्को मृत्यु भएको भन्दै सविताले रोजगारीको अभावमा आफूले छोरीको पठनपाठनलाई निरन्तरता दिन नसकेको बताउनुभयो ।

प्रकाशित मिति : २०७५ बैशाख १४ गते शुक्रवार
प्रतिक्रिया