लक्ष्मण विश्वकर्मा,तुलसीपुर , १४ बैशाख ।
दाङमा पछिल्लो समय औलो रोगका विरामीहरु घट्दै गएको एक तथ्याङकले देखाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङको तथ्याङक हेर्दा वितेको नौ महिनामा १५ जना औलोका विरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय दाङले दिएको जानकारी अनुसार गत वर्षको तुलनामा यस वर्ष विरामीको संख्यामा केहि कमी आउने जनाएको छ ।
गत आर्थिक वर्षमा ३४ जना विरामी भेटिएका थिए भने यस वर्ष वितेको नौ महिनामा १५ जना विरामी भेटिएका छन । जिल्लाको तथ्याङकलाई हेर्दा दाङ पनि औलो रोगको जोखीममा रहेको जिल्ला जनस्वास्थय कार्यालयका औलो निरीक्षक कमल चन्दले बताएका छन् ।
साथै उक्त रोग निवारण गर्नको निम्ती सम्पुर्ण सरोकारवाला निकाय, नागरिक समाज, राजनितिक दल र स्थानिय तहका जनप्रतिनिधिहरुको सहयोग प्राप्त भएमा नेपाललाई सन् २०२५ सम्म औलो निवारण गर्न सकिने कार्यालयका औलो निरीक्षक चन्दको भनाई छ ।
विश्व स्वास्थ्य संगठनको एक तथ्यांक अनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करिब ५० हजार मानिस प्रभावित हुने गर्छन् । जसमध्ये करिब २७ प्रतिशतको ज्यान औलो रोगकै कारण जाने गरेको उक्त तथ्याङकले देखाएको छ । औलो रोगका कारण ज्यान जानेमा पाँच वर्षमुनिका बालबालिका धेरै रहेका छन् ।