तुलसीपुर, १३ बैशाख
तुलसीपुरका तयारी पोशाक व्यवसायीले बजार प्रवद्र्धनका विषयमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेसंग छलफल गरेका छन् । टेक्टर समितिको भवन अगाडी सडक छेउँमा व्यवसाय गर्दै आएका उनिहरुले उचित स्थानमा व्यवसाय संचालन गर्ने वातावरणको सृजना गरिदिन मेयर पाण्डेसंग छलफल गरेका थिए । यस अघि तुलसीपुरको बसपार्क जाने सडकको पश्चिम तर्फ घुम्तीमा फेन्सी पसल राखेर व्यवसाय गर्दै आएका थिए । बस पार्क निर्माण गर्ने भएपछि उनिहरुलाई त्यहाँबाट स्थानान्तरण गरिएको थियो ।
बजारका प्रमुख चोक र लाइनहरुमा भाडा तिरेर बस्न नसकिने भन्दै व्यवसायीले बस पार्कमा निर्माणाधिन नयाँ भवनमा वस्ने वातावरण तयार पारिदिन आग्रह गरेका थिए । छलफलमा मेयर पाण्डेले टेण्डर प्रकृया विना कोठा उपलब्ध गराउन नसकिने जवाफ व्यवसायीलाई दिएका थिए ।
‘कानुनले आफुले भनेको मान्छेलाई कोठा दिन सक्ने व्यवस्था गरेको छैन,’ मेयर पाण्डेले भने ‘ टेण्डर प्रकृयामा सहभागी भई कोठा भाडामा लिन सकिन्छ, यदि मैले तपाईहरुले भने अनुसार दिएँ भने अख्तियारले बाँधेर लैजान्छ ।’