तुलसीपुर,वैशाख १३ ।
तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ वजेदेखि विहान ६ वजेसम्मका लागि क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ । उपमहानगरपालिकाको २८ औ कार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले वताएका छन् ।
नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा वसेको वैठकले रातीको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको वस्तिमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको प्रवक्ता डाँगीले वताए । यसैगरी कार्यपालिकाको वैठकले प्राकृतिक स्रोत, साधन, ढुँगा, गिट्टी, वालुवा जस्ता नदीजन्य खनिज पदार्थ विहान ६ वजेदेखि साँझ ७ वजेसम्म मात्र उत्खनन गर्न पाइने निर्णय गरेको छ ।
यसका साथै कतिपय ठाउँमा नदीजन्य पदार्थको उत्खनन् कार्य अवैध रुपमा भइरहेको भन्ने गुनासो आएकाले त्यसको अनुगमन गर्ने समेत निर्णय गरेको छ । कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि आइतवारदेखि नै अनुगमनको काम अगाडी वढाइने पनि प्रवक्ता डाँगीले जानकारी दिएका छन् ।