भूकम्पको ३ वर्ष: पुननिर्माणको गति सुस्त, भूकम्पपीडित अझै टहरामा

तुलसीपुर,१२ बैशाख ।
झन्डै ९ हजार मानिसको मृत्यु हुनेगरी विनाशकारी भूकम्प गएको तीन वर्ष पुगेको छ । ०७२ वैशाख १२ गते आजकै दिन गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । ०७२ वैशाख १२ को विनाशकारी भूकम्पले निकै जनधनको क्षति गर्यो ।

त्यसको तीन वर्ष बितिसक्दा पनि क्षतिग्रस्त संरचनाको पूननिर्माणले गति लिन सकेको छैन । कैयौं भूकम्पपीडित अझै पनि टहरामै बसिरहेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार २०७२ सालको भूकम्पमा ७ लाख ६७ हजार ७०५ घर भत्किएका थिए ।

त्यसमध्ये ७ लाख ९ हजार एकसय ८० घरको अनुदान सम्झौता भएको छ । ६ लाख ९६ हजार १९३ ले घर निर्माण सुरु गरेर पहिलो किस्ता लिइसकेका छन् भने ३ लाख ७४ हजार २२५ दोश्रो किस्ता पाउन प्रमाणित भइसकेका छन् । १ लाख २१ हजार ४४ लाभग्राही तेस्रो किस्ताको प्रतिक्षामा छन् ।

प्राधिकरणको तथ्यांक अनुसार २ लाख ६३ हजार ७५ घर बनिसकेको छ । भूकम्पपछि सरकारले प्रभावित ३१ जिल्लामध्ये अति प्रभावित १४ र कम प्रभावित १७ गरी विभाजन गरेर काम सुरु गरेको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले निजी आवास निर्माणलाई पहिलो प्राथमिकतामा राखेको बताएपनि बैंकहरूको उदासीनता र झन्जटिलो प्रक्रियाका कारण समयमै पैसा लिन समस्या भएको प्रभावितको गुनासो छ ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पमा घरबास गुमाएका परिवारलाई सरकारले ३ लाख रुपैयाँ घर निर्माण अनुदान दिने घोषणा गरेको थियो । त्यति रकमले पीडितले घर बनाउन नसक्ने भन्दै सरकारले उपत्यकामा २५ लाख र उपत्यकाबाहिर १५ लाखसम्म सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था पनि ग¥यो । तर २ प्रतिशत ब्याजमा दिने भनिएको सहुलियत ऋण अधिकांशले लिन सकेका छैनन् ।

सिन्धुली, रामेछाप, रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक लगाएत भूकम्पबाट अति प्रभावित जिल्लाका पीडितले सहुलियत दरको ऋणका विषयमा बैंकमा बुझ्न जाँदा विभिन्न बहाना बनाएर पन्छिने गरेको गुनासो गरेका छन् । कतिपय प्रभावितले त त्यस विषयमा आफूहरुलाई जानकारी नै नभएको समेत बताएका छन् ।

यसबाहेक सरकारले निब्र्याजि ऋणको समेत घोषणा गरेको थियो । तर त्यो कार्यक्रम अझैं सुरु हुन सकेको छैन । १२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि अझै १ खर्ब ६० अर्ब रुपैयाँ आवश्यक पर्ने भएको छ । प्राधिकरणका अनुसार पुनर्निर्माणमा अहिलेसम्म १ खर्ब १९ अर्ब २० करोड रुपैयाँ खर्च भइसकेको छ ।

यसमध्ये ठूलो हिस्सा नेपाल सरकारको आफ्नै स्रोतबाट खर्च भएको बताइएको छ । पुनर्निर्माण सम्पन्न गर्न दाताले दिएको प्रतिबद्धता, सम्झौता तथा खर्च भइसकेको रकमबाहेक थप १ खर्ब ६० अर्ब आवश्यक पर्ने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले बताउनुभयो ।

प्रकाशित मिति : २०७५ बैशाख १२ गते बुधवार
प्रतिक्रिया