तुलसीपुर २४ चैत्र । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको २४ औं साधारणसभा तुलसीपुरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष शेषमनि रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव डिल्लीराज रेग्मीले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा पत्रकारिताको माध्यमबाट नेपाली साहित्यको विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानले रेडियो प्रकृतिकी प्रेमकुमारी मगर र नयाँ युगवोधमा कार्यरत एकराज भण्डारीसहित विभिन्न विधाका २० जना व्यक्तिहरुलाई सम्मान सहित पुरस्कृत गरिएको थियो ।
त्यसैगरी सामाजिक तथा शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै शंकर दिवस मज्गैया र देवराज आचार्यलाई सम्मान गरेको थियो भने गत वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउने तुलसीपुरका ३ जना विद्यार्थीलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
साहित्यकार हरिप्रसाद पोख्रेल,गणेश विसंग,मक्कुस पन्थी,नवराज रजौरे,श्रीधर शर्मा लगाएतले वर्तमान सामाजिक परिवेश तथा राष्ट्रभावमा आधारित रचना प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष डिल्लीराज गौतम श्रीधरको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव डिल्लीराज रेग्मीले गर्नुभएको थियो ।
२०५७ सालमा स्थापित दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानले लुकेर रहेका प्रतिभाहरुको खोजी गर्दै साहित्यमार्फत समाजमा हुने विकृति विसंगति प्रति खबरदारी गर्ने काम गर्दै आईरहेको छ ।